काठमाडौं : नुवाकोटको ककनी गाउँपालिकास्थित वडा ७ मा एकदिने स्वास्थ्यशिविर सम्पन्न भएको छ। शनिवार वडाको स्वास्थ्य चौकीमा भएको पाठेघरको मुख क्यान्सर स्क्रिनिङ(भिआइए) तथा मधुमेह परीक्षण शिविरमा १६० भन्दा बढी लाभन्वित भएको स्थानीय सुरेश ब्लोनले बताए।
वडाध्यक्ष रामकृष्ण तामाङ विशेष पहलमा भएको शिविरमा १०४ जना महिलाले पाठेघर जाँच गराएका थिए। जसमा १५ जनामा भिआइएको प्रारम्भिक लक्षण देखिएको चिकित्सकले जनाएको ब्लोनले बताए।
समाजसेवी सुनिता पाण्डेको सहकार्यमा भएको शिविरमा नेपाल क्यान्सर फाउन्डेसनकी डा सरिता घिमिरेको टोलीले जाँच गरेको वडाध्यक्ष तामाङले बताए। 'गाउँपालिकासँग समन्वय गरेर समाजसेवी सुनिता पाण्डेको सहकार्यमा शिविर भएको हो,' वडाध्यक्ष तामाङले भने, 'नेपाल क्यान्सर फाउन्डेसनकी डा सरिता घिमिरेको टिम स्वास्थ्य चौकी आउनुभएको थियो। ३० देखि ६० वर्षको महिलाहरु शिविरमा आउनुभयो।'
आफूले चुनावमा उठाएको मुद्दा नै स्वास्थ्य भएकोले विभिन्न व्यक्तिको सहकार्यमा स्वास्थ्य शिविर लगिएको उनले बताए। शिविरमा समस्या पहिचान भएका महिलाहरुलाई समन्वय गरी उपचारमा सहयोग गर्ने नीतिसमेत वडाको रहेको तामाङले बताए।