PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

किचलोबीच सुर्खेतमा क्यानको साधारण सभा, असन्तुष्ट पक्ष राखेप गुहार्दै काठमाडौंमै



मुकुन्द घिमिरे

किचलोबीच सुर्खेतमा क्यानको साधारण सभा, असन्तुष्ट पक्ष राखेप गुहार्दै काठमाडौंमै

काठमाडौं : नेपाल क्रिकेट संघ(क्यान)मा किचलो जारी छ। तर नेतृत्व भने ढुक्कसँग सुर्खेत पुगिसकेको छ किचलो नपन्छाइ। आइतवारबाट शुरु हुने साधारण सभाका लागि उनीहरु वीरेन्द्रनगरमा छन्।

यता काठमाडौंमा भने केही केन्द्रीय सदस्य क्यान नेतृत्वविरुद्ध निवेदन नै लिएर पुगेका छन् राष्ट्रिय खेलकुद परिषद्मा। क्यानका पाँच जना निर्वाचित सदस्य र दुई जना राखेप प्रतिनिधिसमेत रहेका केन्द्रीय सदस्य गरी सात जनाले राखेपमा निवेदन दर्ता गराएका हुन्।

उनीहरुको आरोप छ - प्रशान्तविक्रम मल्ललाई विधान विपरित कार्यवाहक सचिव बनाएको र फेरि दुर्गाराज पाठकलाई पनि त्यसरी नै विधानबाहिर गएर जिम्मेवारी दिएको।

क्यानका निर्वाचित सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिएपछि मल्ललाई कार्यवाहकको जिम्मेवारी दिइएको थियो। नेपाल टी - २० लिगमा स्पट फिक्सिङको विवाद चर्किएलगत्तै मल्लले पनि राजीनामा ठोके पोखरा बैठकमा। रिक्त पदमा क्यानले कार्यवाहकको जिम्मेवारी दुर्गाराज पाठकलाई दियो। उक्त नियुक्त पनि विधान विपरित भएको निवेदक पक्षको आरोप छ।

'नेपाल क्रिकेट संघका केन्द्रीय कार्यसमितिका निर्वाचित उपाध्यक्ष राजुबाबु श्रेष्ठ र निर्वाचित सचिव अशोकनाथ प्याकुरेलले मिति २०७८/६/१३ मा राजीनामा दिएको र उक्त रिक्त पदमा नेपाल क्रिकेट संघका केन्द्रीय समितिका केन्द्रीय सदस्य प्रशान्तबिक्रम मल्ललाई नेपाल क्रिकेट संघको विधान २०५५ (तेस्रो संशोधन, २०७५) विपरित कार्यवाहक सचिवमा पदपूर्ति गरिएको निवेदन गर्दछौं,' निवेदनमा भनिएको छ।

क्यान विधान विपरित चलेको हो त?

एकपछि अर्को केन्द्रीय सदस्यलाई धमाधम किन कार्यवाहक सचिवको जिम्मेवारी दियो त क्यानले? के यो विधानविपरित हो?

क्यानको विधान पल्टाउने हो भने दफा २८ (१) मा कुनै पद रिक्त भएको अवस्थामा पदपूर्ति गर्दा पूर्व पदाधिकारीलाई सुम्पिएको जिम्मेवारी अन्य पदाधिकारीलाई सुम्पन सकिने व्यवस्था रहेको छ। यसर्थ दुबैलाई यो पदमा नियुक्त गर्न नमिल्ने तर्क गर्छन् उनीहरु। निवेदकहरुको तर्क छ - मल्ल र पाठक क्यानको सदस्यमात्र हुन्। संघको विधानमा पदाधिकारी भन्नाले केन्द्रीय कार्य समितिको अध्यक्ष, उपाध्यक्ष, सचिव तथा कोषाध्यक्षलाई मात्र हुन्। त्यसैले मल्ल र पाठकलाई साधारण सभाको निर्णय बिना उक्त पद सुम्पिन मिल्दैन। जबकि सुर्खेत पुग्नुअघि कार्यवाहकको जिम्मेवारी दिनुपूर्व क्यानले साधारण सभाको बैठक राखेकै छैन।

फिक्सिङमा पनि कारबाहीको माग

जतिन अलुवालियासहित १२ जनालाई प्रतिवादी बनाई मुद्दा दायर गरेको दाबी छ उनीहरुको। फिक्सिङ भएको भनेर खेलाडी र कमेन्टेटरले बारम्बार सुचित गर्दासमेत क्यान नेतृत्वले 'फिक्सिङ भएकै छैन' भन्ने आसयका अभिब्यक्ति दिएकोमा पनि आपत्ति छ उनीहरुको। लिगका लागि सम्पूर्ण निर्णय गरेका नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिमा रहेका अध्यक्ष चतुरबहादुर चन्द, तत्कालिन कार्यवाहक सचिव मल्ल, कोषाध्यक्ष रोशन सिंह, सदस्यद्वय दुर्गाराज पाठक र पदम खड्का एवं टुर्नामेन्ट डाइरेक्टर वृतान्त खनाल मुख्य दोषी भएको आरोप लगाएका छन्।

यद्यपि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले स्पट फिक्सिङमा मुख्य योजनाकार अलुवालियासहित १२ जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालय काठमाडौँमा राय सहितको प्रतिवेदन बुझाएको थियो। अदालतमा भने पाँच जनाविरुद्धमात्र मुद्दा दायर भएको छ। जसमा तीन जना पक्राउ परिसकेका छन् भने दुई जना फरार छन्।

अर्को प्रश्न : नेपाल टी – २० को रकम कसले तिर्ने?

त्यस्तै लिगमा गडबढी भएपछि सिर्जना भएको करोडौँको आर्थिक दायित्व कसले बहन गर्ने भन्ने प्रश्नसमेत उठाएका छन् उनीहरुले।

'यसरी विवादै विवादका बिच जबरजस्ती लिग सन्चालन गरी खेलाडीको पारिश्रमिकलगायत अन्य कुराबाट सिर्जित करौडौं दायित्वको जिम्मेवारी कसको हुने हो?,' निवेदनमा प्रश्न छ, 'संघका अध्यक्षले मिडियामार्फत सबै दायित्व क्रिकेट संघले बहन गर्छ भन्ने आधारहरु के हुन्? खेलाडीहरुको दायित्व फ्रेन्चाइजको नभइ कसरी संघको हुन सक्छ?'

थप प्रश्न छ : क्रिकेट संघले कुनै व्यक्ति विशेषको स्वेच्छाचारी निर्णयको भारी किन र कसरी बोक्दछ? आयोजनाबाट दायित्व कसरी संघको हुन्छ?

निवेदन दिनेम केन्द्रीय सदस्यहरु ऋषिराम गौतम, दाउद अन्सारी, सन्जयराज सिंह, करन महतरा क्षेत्री, अमितविर पाण्डे तथा राखेप प्रतिनिधी छुम्बी लामा, धर्मराज गिरी रहेका छन्। त्यस्तै वागमती प्रदेश क्रिकेट संघ अध्यक्ष राजु बस्नेत र काठमाडौं जिल्ला क्रिकेट संघ प्रतिनिधि दिवाकर घलेले हस्ताक्षर गरेका छन्।

पोखरा बोर्ड बैठकमा पनि गरेका थिए बहिस्कार

क्यानका यी बोर्ड सदस्यहरुले बोर्डको संस्थापन पक्षको कार्यशैलीलाई लिएर पटकपटक आलोचना गर्दै आएका छन्। पछिल्लो समय पोखरा बोर्ड बैठकअघि र पछि पत्रकार सम्मेलन गर्दै नेतृत्वको आलोचना गरेका थिए।

पोखरा बोर्ड बैठकमा क्यान नेतृत्वले १७ भन्दा बढी एजेन्डा लिएर बसेपनि असन्तुष्ट पक्षले अध्यक्ष चन्दलगायतको राजीनामा माग गर्दै बैठक बहिस्कार गरेका थिए।

क्यान कार्यसम्पादन समितिमा रहेका चन्द, मल्ल, रोशन सिंह, पाठक र पदम खड्काले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने सदस्यहरुले माग गरेका थिए। त्यस्तै, नेपाल टी २० लिगको गभर्निङ काउन्सिलमा रहेका संयोजक मल्ललगायत पाठक, भानुभक्त सिग्देल, अशोक मल्होत्रा र सेभेनथ्री स्पोर्ट्सका अलुवालियालाई समेत कारवाहीको दायरामा ल्याउनुपर्ने माग राखेका थिए।

पोखरामा बसेको बोर्ड बैठकले नयाँ नेतृत्वका लागि क्यानको निर्वाचन जेठ मसान्तभित्र गर्ने निर्णय गर्ने तथा क्यानको साधारणसभा फागुन १४ र १५ गते सुर्खेतमा गर्ने निर्णय गरेको थियो।

निवेदनमा उनीहरुले निलम्बन नगर्नुको कारण खुलाइदिन अनुरोध गरेका छन् : यी सबै प्रक्रिया विधानसम्मत नरहेको देखिएकाले के कस्तो आधारमा उक्त पदपूर्ति प्रक्रिया अघि बढेको हो र फिक्सिङजस्तो गम्भीर फौजदारी अपराधमा मुछिएका तथा ऐन विपरित सम्झौता गर्ने तथा पटकपटक स्वेच्छाचारी रुपमा निर्णय गर्ने नेपाल क्रिकेट संघको कार्य सम्पादन समितिका सदस्यलगायत टुर्नामेन्ट डाइरेक्टरलाई निलम्बन नगर्नुको कारण खुलाइदिन हुन निवेदन छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell