काठमाडौं: राष्ट्रपतिको चुनावमा दुई पूर्वसभामुख सुवास नेम्वाङ र रामचन्द्र पौडेलको‘ब्याटल’ छ। नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल र नेकपा एमालेका उपाध्यक्ष नेम्वाङ कांग्रेस र एमालेका पाका नेता त हुन् नै, प्रतिनिधि सभामा प्रत्यक्षबाट चुनाव जितेका सांसद पनि। राष्ट्रपति ‘ब्याटल’मा पौडेललाई ८ दलीय गठबन्धनले काँध हालेको छ, नेम्वाङलाई एमाले कित्तामै उभिएकाले साथ दिन आनाकानी गरिहरेका छन्।
कांग्रेसको १४ औं महाधिवेशनमा आफ्नै गुटको साथ नपाउँदा सभापतिको उम्मेदवार बन्न नसकेपछि स्तब्ध भएका थिए पौडेल। महाधिवेशन प्रक्रिया नै बहिष्कार गरेका थिए रामचन्द्रले त्यतिबेला। यसो त देउवालाई सहयोग गर्न महाधिवेशनमा मौन बसेको आरोप उनलाई नलागेको हैन।नेम्वाङको पनि पार्टीमा चित्त दुखाइ पौडेलको भन्दा खासै कम छैन, तर गुपचुप मात्रै। एमालेको सौरहा महाधिवेशनमा ओलीलाई ‘तपाईं बाहेकलाई नेता नै मान्दिनँ’ भनेर वरिष्ठ उपाध्यक्षमा दाबी गरेका नेम्वाङले उपाध्यक्षमै चित्ता बुझाए।
चित्त दुखाइ यतिमात्र छैन। राष्ट्रपति चुनावको उम्मेदवारी टुंगो लगाउन ओलीले ढिलाइ गरेकोमा पनि नेम्वाङ खुसी छैनन्। समयमा नै आफूलाई अघि सारेको भए माओवादीले सहयोग गर्ने नेम्वाङले आफू निकटहरुसँग दाबी गरिरहेका छन्।
शनिबार राष्ट्रपतिको उम्मेदवारी दर्ता गराएपछि रामचन्द्र पौडेल
एमालेका अध्यक्ष केपी शर्मा ओलीको विश्वासिलो पात्रका रुपमा परिचित नेम्वाङले ओलीले गरेको दुई पटकको प्रतिनिधि सभामा बचाउ गर्न सकेनन्। ‘म अहिले केहि बोल्दिनँ’ भनेरै टारेका थिए नेम्वाङले।
राष्ट्रपतिका दुई ‘ह्याभिवेट’ उम्मेदवारका समानता हुँदाहुँदै त्यतिकै भिन्नता पनि छन्। पौडेल तिखो र नेम्वाङ मिठो बोल्ने नेता हुन्। कम्युनिस्ट र कांग्रेस राजनीतिबाट उदाएका नेम्वाङ र पौडेल भौगोलिक हिसाबले पनि पूर्व र पश्चिमका। इलाम- २ बाट नेम्वाङ प्रतिनिधि सभामा निर्वाचित भएका हुन् भने पौडेल तनहु - १ बाट।
फागुन २५ गते हुने निर्वाचनका लागि शनिबार मनोनयन दर्ता गरिसकेका छन् दुबै नेताले। यसपटकको राष्ट्रपति निर्वाचनमा कांग्रेस- एमालेका ह्याभिवेट पुरुष नेता मैदानमा उत्रिँदा अघिल्लो पटक भने दुई महिला नेताले प्रतिस्पर्धा गरेका थिए। २०७४ फागुन २९ गते वाम गठबन्धनका तर्फबाट विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएकी थिइन्। त्यतिबेला नेपाली कांग्रेसकी कुमारी लक्ष्मी राई भण्डारीसँग पराजित भइन्। २०७२ कात्तिक ११ गते भण्डारी पहिलो पटक राष्ट्रपति भएकी थिइन्। उनको पछिल्लो कार्यकाल फागुन २९ मा सकिँदै छ।
राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएपछि ओलीका साथमा सुवास नेम्वाङ
को हुन्छन् राष्ट्रपतिको चुनावमा मतदाता?
संविधानको धारा ६२ मा भएको व्यवस्था अनुसार संघीय संसद् र प्रदेश सभा सदस्य राष्ट्रपति निर्वाचनका लागि मतदान गर्न पाउँछन्। ‘राष्ट्रपतिको निर्वाचन संघीय संसदको सदस्य र प्रदेश सभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने छ,’ धारा ६२ मा भनिएको छ।
संघीय संसद्को प्रतिनिधि सभामा २७३ र राष्ट्रिय सभामा ५९ गरी हाल ३३२ जना सांसद छन्। नेपाली कांग्रेसका निलम्बित सांसद टेक बहादुर गुरुङ र सांसद पद खारेज भएका रास्वपाका रवि लामिछानेको मतदाता नामावलीमा नाम छैन।
राष्ट्रपतिको निर्वाचनसम्बन्धी संविधानमा भएको व्यवस्था
यस्तै प्रदेश सभामा जम्मा ५५० जना सांसद छन्। यस पटकको राष्ट्रपतिको निर्वाचनमा १ हजार २१६ जना मतदाता छन्। संघ र प्रदेशका सांसद रहेको निर्वाचक मण्डलले राष्ट्रपति चयन गर्ने छ।
के पटक पटक हुन सक्छ चुनाव?
निर्वाचनबाट बहुमत प्राप्ता गर्ने व्यक्ति राष्ट्रपति हुने व्यवस्था छ। राष्ट्रपतिमा अरु निर्वाचनमा जस्तो प्रतिस्पर्धीभन्दा धेरै मत ल्याए निर्वाचित हुने व्यवस्था छैन। जितका लागि ५० प्रतिशत भन्दा बढी मत ल्याउनुपर्ने छ। बहुमत प्राप्त नभएमा सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच फेरि निर्वाचन हुने व्यव्यस्था पनि संविधानमा छ। ‘कुनै उम्मेदवारले कुल मतको पचास प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेमा पुन: मतदान हुनेछ,’ संविधानमा भनिएको छ।
राष्ट्रपतिमा को योग्य को अयोग्य?
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन २०७४ अनुसार राष्ट्रपतिको उम्मेदवार हुन न्यूनतम उमेर तोकिएको छ। कम्तिमा ४५ वर्षको हुनुपर्ने छ। स्थानीय तहको अन्तिम मतदाता नामावलीमा नाम नभएको व्यक्ति राष्ट्रपतिको उम्मेदवार हुन पाउने छैन। वंशजका आधारमा नागरिकता लिएको व्यक्ति मात्रै राष्ट्रपतिको उम्मेदवार हुन पाउँछ भने संघीय कानुनले अयोग्य नभएको हुनुपर्ने छ। सरकारी कोषबाट तलब खाइरहेको व्यक्तिले पनि राष्ट्रपति हुन पाउने छैन। तर निर्वाचन वा मनोनयनद्धारा पूर्ति गरिने राजनीतिक पद बाहेकले उम्मेदवार हुन राजीनामा दिनुपर्ने व्यवस्था छ।
सांसदको हकमा राष्ट्रपति निर्वाचित भएपछि उसको सांसद पद खाली हुने, निर्वाचन कानुनले सजाय पाएको भए दुई वर्ष सम्म राष्ट्रपतिका लागि आयोग्य हुने व्यवस्था छ। कालोसूचीमा रहेको भए, कैदमा बसेको अवधिमा र मानसिक सन्तुलन ठिक नभएको भन्ने प्रमाणित भए पनि उम्मेदवार हुन अयोग्य मानिने छ।
के हो मतभार?
राष्ट्रपतिको निर्वाचनमा संघीय संसद् र प्रदेश सभा सदस्यको फरक फरक मतभार हुन्छ। नेपालको कुल जनसंख्यालाई सांसदको संख्याले भाग गरेर आउने संख्यालाई फेरि हजारले भाग गर्दा एक जना सांसदको मत भार कायम हुन्छ। जस्तै प्रतिनिधि सभामा २७५ र राष्ट्रिय सभामा रहेका ५९ सांसद जोडेर नेपालको २०६८ को जनसंख्यालाई भाग गर्दा आउने संख्या संघीय सांसदको एक जनाको मतभार हुन जान्छ।
२०६८ को जनगणना अनुसार २ करोड ६४ लाख ९४ हजार ५०४ जना लाई संघीय संसदमा रहेका ३३२ जनाले भाग गर्दा आउने संख्यालाई फेरि हजारले भाग गर्दा संघीय संसदका सदस्यको एक जनाको मत भार ७९ हुन जान्छ। प्रदेशमा पनि संघमा जस्तै जनसंख्यालाई प्रदेश सभा सदस्यले भाग गरेर आउने संख्यालाई हजारले भाग गर्दा प्रदेश सभा सदस्यको मत भार हुन्छ। २ करोड ६४ लाख ९४ हजार ५०४ जना लाई प्रदेश सभामा रहेका ५ सय ५० जनाले भाग गर्दा मतभार ४८ हुन जान्छ।
कसरी हुन्छ चुनाव?
राष्ट्रपतिको चुनाव संघीय संसद् भवन परिसरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा हुने छ। संघीय संसद् र प्रदेश सभा सदस्यका लागि छुट्टा छुट्टै मतदानको व्यवस्था गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। ‘निर्वाचन अधिकृतको कार्यालय रहेकै ठाउँमा चुनाव हुन्छ। प्रदेश र संघका सांसदहरुका लागि फरक-फरक मतदान गर्ने व्यवस्था गरिएको छ,’ उनले भने।
स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारको चुनाव चिन्ह हुन्थ्यो भने राष्ट्रपतिको निर्वाचनमा पार्टीको नाम र चुनाव चुन्ह भने हुँदैन। दलबाहिरको व्यक्ति पनि उम्मेदवार हुन पाउने व्यवस्था भएका कारण पार्टीको नाम राख्ने व्यवस्था कानुनमा नभएको पौडेलले बताए। ‘तपाईं हामी जस्तो व्यक्ति पनि उम्मेदवार हुन पाउने भएकाले यसमा पार्टीको नाम हुँदैन। उम्मेदवारको नाम मतपत्रमा लेखिएको हुन्छ,’ उनले भने। मतपत्रमा स्वस्तिक छाप लगाएर मतदान गर्नुपर्ने व्यवस्था छ।
रामचन्द्रलाई ८ दलको साथ, नेम्वाङलाई एमालेको मात्रै!
पुस १० गते बनेको एमाले - माओवादी गठबन्धन फागुन १२ गते टुटेपछि एमाले राष्ट्रपतिको निर्वाचनमा कमजोर देखिएको छ। प्रतिनिधि सभाको दोस्रो ठूलो दल एमालेका उम्मेदवार सुवास नेम्वाङको विपक्षमा ८ दलीय गठबन्धन छ। कांग्रेसका उम्मेदवार पौडेललाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र नागरिक उन्मुक्तिगरी ८ दलको समर्थन छ। ८ दलीय गठबन्धन बाहिर रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा लगायतले पनि नेम्वाङलाई समर्थन गरिसेकेका छैनन।
एमाले सत्ताबाट बाहिरिएको छैन भने राप्रपा सरकारबाटै बाहिरिसकेको छ। रास्वपा पनि सरकारमा छैन्। एमाले भने राष्ट्रपतिको निर्वाचनसम्म सरकारमा रहने/ नरहनेबारे पर्ख र हेरको स्थितिमा छ। एमालेसँगको सहकार्यलाई टुटाएर प्रधानमन्त्री पुष्पकमल दाहाललाई दुई महिनामै पुरानै गठबन्धनमा फिर्ता गराएपछि कांग्रेसले राहत महसुस गरिरहेको छ। प्रधानमन्त्री नपाएपछि प्रचण्ड ओलीसँग सहकार्य गर्न पुगेका थिए।
गठबन्धन बाहिरकाले किन गरे नेम्वाङलाई सघाउन आनाकानी?
नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवारमा प्रस्ताव र समर्थन गर्ने सांसद एमालेको मात्रै छन्। प्रस्तावकमा ओली, पृथ्वीसुब्बा गुरुङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विश्वकर्मा छन् भने समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो, दिलकुमारी रावल र अमन कुमार मास्के छन्।
पुस १० गते प्रचण्डलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दा राप्रपा र रास्वपा लगायतका दल प्रचण्डन्दा पहिले नै बालकोटमा पुगेका थिए। चुनावपछि लगातार एमालेको कित्तामा उभिएका राप्रपा र रास्वपाले पनि नेम्वाङको प्रस्तावक र समर्क बस्न आनाकानी गरे। दुबै पार्टीले राष्ट्रपतिको प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेका थिए। एमाले - माओवादी गठबन्धनमा आएको विभाजनसँगै फेरि पनि सत्ताको दाउ पर्खिरहेका रास्वपा र राप्रपाले राष्ट्रपतिमा दुबै कित्तामा नखुलेर फेरि पनि बार्गेनिङ बढाएका हुन्। रास्वपाले सार्वजनिक रुपमै गृहमन्त्रालय पाए सत्तामा फर्किने अभिव्यक्ति दिएको थियो।
कसको मतभार कति?
पौडेलको पक्षमा रहेका ८ दलको मतभार ३१ हजार ७९० छ। संघीय संसदमा १५ हजार ३२६ र प्रदेशमा १६ हजार ४६४ गरी ३१ हजार ७९० मतभार पौडेलको पक्षमा रहेको हो।
एमाले एक्लैको मतभार संघमा ७ हजार ५८४ र प्रदेशमा ७ हजार ७२८ गरी १५ हजार ३१२ छ। ८ दलीय गठबन्धन बाहिर रहेका दलको जम्मा मतभार भने २० हजार ८३८ छ। यसरी हेर्दा ८ दलीय गठबन्धन फागुन २५ सम्म नटुटे ३१ हजार ७९० मतभारका साथ पौडेल राष्ट्रपतिमा निर्वाचित हुन सक्छन् भने एमालेका नेम्वाङ १० हजार ९ सय ५२ मतभारको अन्तरले पराजित हुने छन्।