फ्रेन्च स्ट्राइकर किलियन एम्बाप्पे र अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले गोल गर्दा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले मार्सेलीलाई हराएको छ। स्टेड भेलोड्रोममा सम्पन्न खेलमा राइभल मार्सेलीलाई उसैको घरेलु मैदानमा पीएसजीले ३-० गोलअन्तरले हराएको हो।
पीएसजीलाई जित दिलाउन एम्बाप्पेले दुई र मेस्सीले एक गोल गरे। खेलको २५ औं मिनेटमा एम्बाप्पेल लियोनल मेस्सीको पासमा गोल गर्दै अग्रता दिलाएका थिए। लगत्तै २९ औं मिनेटमा मेस्सीले एम्बाप्पेको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए। यो गोलसँगै मेस्सीले आफ्नो करियरको ७ सय क्लब गोल पुरा गरेका छन्।
पहिलो हाफमा दुई गोलले अघि रहेको पीएसजीका लागि दोस्रो हाफमा एम्बाप्पेले नै गोल गरे। खेलको ५५ औं मिनेटमा एम्बाप्पेलले मेस्सीकै पासमा गोल गर्दा शीर्ष स्थानको पीएसजीले दोस्रो स्थानको मार्सेलीमाथि ३-० गोलको जित निकाल्न सफल भयो।
जितसँगै पीएसजीले शीर्षस्थानमा ८ अंकको अग्रता बनाएको छ। २५ खेलबाट ६० अंक जोड्दै पीएसजी शीर्षस्थानमा रहँदा दोस्रो स्थानको मार्सलीको ५२ अंक छ।