काठमाडौं : नेपाली क्रिकेट टोलीले आज पपुवा न्युगिनीविरुद्ध खेल्दै छ। क्रिकेट विश्वकप लिग २ अन्तर्गतको नेपाल, पपुवा न्युगिनी र यूएईबिचको त्रिकोणात्मक सिरिजको यो खेल दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा दिउँसो पौने १२ बजे सुरु हुनेछ।
पपुवा न्युगिनी र नेपालबिचका पछिल्ला पाँच एकदिवसीय क्रिकेटमा नेपालले तीन र पपुवा न्युगिनीले दुई जित निकालेका छन्।
खराब लयमा रहेको पीएनजी लिग २ का पछिल्ला ६ खेलमा लगातार पराजित भएको छ। अर्कोतर्फ नेपाल पछिल्ला ४ खेलमा विजयी भएको छ। तर, पीएनजीविरुद्धको पछिल्लो दुई एकदिवसीय खेलमा भने नेपाल पराजित भएको थियो।
जितको दबाबमा नेपाल
नेपाली टोली आजको खेलमा जितको दबाबमा हुनेछ। लिग २ को अंकतालिकामा छैटौँ स्थानमा रहेको नेपालको अझै तेस्रो स्थानमा रहेर विश्वकप छनोट खेल्ने सम्भावना जीवित छ।
अर्कोतर्फ पुछारमा रहेको पीएनजीको शीर्ष पाँचमा पर्ने सम्भावना पनि टरिसकेको छ। नेपालले २८ खेलबाट २६ अंक जोड्दै छैटौँ स्थानमा रहँदा पीएनजी समान खेलबाट ५ अंक जोड्दै तालिकाको पुछारमा छ।
अंकतालिकाको पहिलो र दोस्रो स्थान सबै ३६ खेल खेलिसकेका स्कटल्याण्ड र ओमनले ५० र ४४ अंक जोड्दै पक्का गरिसकेका छन्। तेस्रो स्थानमा नामिबिया, युएई र नेपालको नजर छ।
हाल तेस्रो स्थानमा सबै ३६ खेल खेलेर ३९ अंक जोडेको नामिबिया छ भने ३६ खेलबाट ३५ अंक जोडेको अमेरिका चौथो स्थानमा रहँदा उसको शीर्ष तीनमा पर्ने सम्भावना टरिसकेको छ। त्यस्तै, समान २८ खेलबाट २९ र २६ अंक जोडेका यूएई र नेपाल शीर्ष तीनमा पुग्दै विश्वकप छनोट खेल्ने होडमा कायम छन्।
नयाँ अनुहारसहित नेपाली टोली
युएई सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले १५ सदस्यीय टोली रहेको छ। टोलीमा नाबालिग बलात्कारको अभियोग ब्यहोरिरहेका पूर्व कप्तान सन्दीप लामिछाने समावेश छैनन्। टोलीमा प्रतिस जिसी, श्याम ढकाललगायतका नयाँ अनुहारले अवसर पाएका छन्।
आइतवार पनि लामिछानेको मुद्दा हेर्दा हेर्दैमा राखिएको छ। खेल खेल्न विदेश जान पाउनुपर्ने भन्दै सन्दीपले दिएको रिट निवेदनमा शुक्रवार सर्वोच्च अदालतले थप निवेदन माग गरेको थियो।
सर्वोच्चका न्यायाधीश ईश्वर प्रसाद खतिवडाको इजलासले शुक्रवार थप निवेदन माग गरेको थियो। पुस २८ गते उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
सन्दीपलाई विदेश जान र काठमाडौं उपत्यका छोड्न रोक लगाइएको छ। अदालतले तोकेको शर्त नमाने यो आदेश तत्काल रद्द हुने भनिएको छ।
तर, क्रिकेट खेल्न विदेश जानुपर्ने भएको भन्दै लामिछानेले सर्वोच्च अदालतमा निवेदन दिएका थिए। त्यस्तै, उच्च अदालत पाटनले धरौटीमा रिहा गरेकोविरुद्ध सर्वोच्चमा दिइएको निवेदनको सुनुवाई पनि हेर्दा हेर्दैमा रहेको छ।
१५ सदस्यीय टोलीमा कोको छन्?
रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आशिफ शेख, सोमपाल कामी, करण केसी, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, सुन्दिप जोरा, कुशल मल्ल, श्याम (मौसम) ढकाल, गुलसन झा, आरिफ शेख, प्रतिश जिसी