काठमाडौँ: पपुवा न्युगिनीविरुद्धको खेलबाट प्रतिश जिसीले नेपाली राष्ट्रिय टोलीमा डेब्यु गरेका छन्। क्रिकेट विश्वकप लिग २ अन्तर्गतको युएईमा सुरु भएको नेपाल, यूएई र पपुवा न्युगिनीबीचको त्रिकोणात्मक सिरिजको आफ्नो पहिलो खेलमा युएईस्थित दुबई क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ।
पपुवा न्युगिनी र नेपालबिचका पछिल्ला पाँच एकदिवसीय क्रिकेटमा नेपालले तीन र पपुवा न्युगिनीले दुई जित निकालेका छन्।
खराब लयमा रहेको पीएनजी लिग २ का पछिल्ला ६ खेलमा लगातार पराजित भएको छ। अर्कोतर्फ नेपाल पछिल्ला ४ खेलमा विजयी भएको छ। तर, पीएनजीविरुद्धको पछिल्लो दुई एकदिवसीय खेलमा भने नेपाल पराजित भएको थियो।
नेपाली टोली आजको खेलमा जितको दबाबमा हुनेछ। लिग २ को अंकतालिकामा छैटौँ स्थानमा रहेको नेपालको अझै तेस्रो स्थानमा रहेर विश्वकप छनोट खेल्ने सम्भावना जीवित छ।
अर्कोतर्फ पुछारमा रहेको पीएनजीको शीर्ष पाँचमा पर्ने सम्भावना पनि टरिसकेको छ। नेपालले २८ खेलबाट २६ अंक जोड्दै छैटौँ स्थानमा रहँदा पीएनजी समान खेलबाट ५ अंक जोड्दै तालिकाको पुछारमा छ।
कोको छन् नेपालको प्लेइङ ११ मा?
कुशल भुर्तेल, मोहम्मद आशिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, मोहम्मद आरिफ शेख, कुशल मल्ल, प्रतिश जिसी, सोमपाल कामी, करण केसी, गुलसन झा