PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

राहतको पर्खाइमा आगलागीबाट घर गुमाएका अलौँका पीडित



पहिलोपोस्ट

राहतको पर्खाइमा आगलागीबाट घर गुमाएका अलौँका पीडित

वीरगंज : वीरगंज-१७ अलौँका आगलागी पीडितहरु राहत तथा सहयोगको पर्खाइमा छन्। गत फागुन ९ गते राति सवा १० बजे अचानक भएको आगलागीमा ४ जनाको घर जलेर नष्ट भएको थियो।

आइसीपी गेटभन्दा करिब सय मिटर पश्चिममा रहेको अलौँको पवरिया टोलमा आगलागी हुँदा जग मियाँ पावरिया, सलाउद्दीन मियाँ पवरिया, ताजमियाँ पावरिया र अमरुद्द मियाँ पावरियाको घर जलेर धनमालको क्षति भएको हो। आगलागीको वास्तविक कारण खुल्न नसकेको पर्सा प्रहरीले जनाएको छ।

आगलागीमा परेर लत्ताकपडा, गरगहना तथा डेढ लाख नगदसहित एक थान मोटरसाइकल, दुई वटा चौपायालगायत पनि जलेर क्षति भएको छ। आगलागी भएपछि चारवटै घरको परिवारका सदस्यहरुले भागेर ज्यान जोगाएका थिए।

आगलागी भएको स्थलमा दमकल पुग्दा सबै घर जलिसकेको पीडितहरुले बताएका छन्। आगलागीमा परि करिब १२ लाखको क्षति भएपनि हालसम्म अपेक्षित रुपमा आर्थिक तथा खाद्यान्न सहयोग नपाएको उनीहरुले दुखेसो पोखेका छन्।

आगलागी पीडितहरुलाई वीरगंज वडा नम्बर १७ का वडा अध्यक्ष सन्जु छतकुलीले जनही २/२ हजार नगद एवं खद्यान्न सहयोग गरेका छन्। पूर्व वडा अध्यक्ष सुकरानी देवीको परिवारले पनि सहयोग गरे तापनि त्यो सहयोग पर्याप्त नभएको उनीहरुको भनाइ छ।

पीडितहरुले जिल्ला डिभिजन वन कार्यालयबाट घर निर्माणको लागि काठको व्यवस्था मिलाउन पनि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन तयारी गरिरहेका छन्। हाल उनीहरु त्रिपालमुनि रात काटन बाध्य छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell