काठमाडौं : बाल यौन शोषण कार्यमा संलग्न रहेको अभियोगमा चिनियाँ नागरिक ४९ वर्षीय याङ लि मिङलाई शनिवार प्रहरीले पक्राउ गरेको छ। ललितपुर महानगरपालिका-२२ वुंगमतीस्थित कोका न्यू प्युरी एण्ड म्याट्रेस कम्पनी संचालन गरी बस्दै आएका मिङ पक्राउ परेका हुन्।
उनले फेसबुकमार्फत नाबालिकाहरुसँग चिनजान गरी साथी बनाई काठमाडौं बोलाएर विभिन्न मनोरञ्जनात्मक गतिविधिहरुमा संलग्न गराउनुका साथै आर्थिक प्रलोभन देखाई यौन शोषण गर्ने गरेको खुलेको थियो। सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्युरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-२२ वुंगमतीबाट पक्राउ गरेको हो।
उनले १४ देखि १७ वर्षका ६ जना नाबालिकहरुमध्ये २ जनालाई बुङमतीस्थित निजको अपार्टमेन्टमा लगेर यौन शोषण गरिसकेको तथा अन्य ४ जना बालिकाहरुलाई ठमेलस्थित होटलमा ललाईफकाई राखिएको अवस्थामा प्रहरीले ती बालिकाहरूको उद्धार गरेको छ।
उनीविरुद्ध जबरजस्ती करणी शीर्षकको मुद्दामा जिल्ला अदालतबाट ३ दिनको म्याद अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।