PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

हङकङमाथि ९ विकेटले नेपाल विजयी, लगातार तेस्रो खेलमा जित



पहिलोपोस्ट

हङकङमाथि ९ विकेटले नेपाल विजयी, लगातार तेस्रो खेलमा जित
फाइल फोटो आईसीसी

काठमाडौँ: आईसीसी यू १९ पुरुष विश्वकप एसिया छनोटको आज सम्पन्न खेलमा नेपालले हङकङलाई हराएको छ। यूएईस्थित मलेका क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले हङकङलाई ९ विकेटले हराएको हो।

टस जितेर ब्याटिङमा उत्रिएको हङकङले ४६.३ ओभरमा सबै विकेट गुमाउँदै १२० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले २२.१ ओभरमा १ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।

सुरुवाती ब्याटिङ गरेको हङकङका लागि पार्थ भागवतले सर्वाधिक ३६ रन बनाउँदा मोहम्मद ऐय्यान जाहिरले २९ तथा अहन त्रिवेदीले ११ रन बनाए। त्यसबाहेकका ब्याट्सम्यानले दोहोरो अंकको रन छुन सकेनन्। बलिङतर्फ नेपालका हेमन्त धामीले सर्वाधिक ३ विकेट लिँदा आकाश चन्द र सुवास भण्डारीले समान २ विकेट लिए। त्यस्तै दीपेश कणेलले एक विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपालका लागि आकाश त्रिपाठीले सर्वाधिक अविजित ६४ रन बनाउँदा उत्तम थापा मगर ३९ रनमा अविजित रहे। त्यस्तै अर्जुन कुमालले १६ रन बनाए।

नेपाली यू १९ टोलीको यो लगातार तेस्रो जित हो। नेपालले पहिलो खेलमा सिंगापुरलाई र दोस्रो खेलमा कुवेतलाई हराएको थियो। नेपालले सिंगापुरमाथि ९६ र कुवेतमाथि २४३ रनको फराकिलो जित निकालेको थियो। समान तीन खेल खेलेको हङकङको यो दोस्रो हार हो। पहिलो खेलमा कुवेतलाई १ विकेटले हराएको हङकङले दोस्रो खेलमा यूएईसँग १६३ रनको पराजय ब्यहोरेको थियो।

जितसँगै तीन खेलबाट ६ अंक जोडेको नेपाल अंकतालिकाको दोस्रो स्थानमा कायम छ। शीर्षस्थानमा समान ६ अंक जोडेको यूएई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell