काठमाडौँ: नेपाली क्रिकेट टोलीले पपुवा न्युगिनीलाई हराउँदै जितको शृङखलालाई कायम राखेको छ। यूएईस्थित दुबई क्रिकेट मैदानमा आज सम्पन्न क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा पीएनजीलाई ४ विकेटले हराउँदै जितको शृङखलालाई निरन्तरता दिएको हो।
टस हारेर ब्याटिङमा उत्रिएको पीएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४५.२ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो।
सुरुवाती ब्याटिङमा उत्रिएको पीएनजीका लागि कप्तान असद भाला र चाड सोपरले समान ३६ रन बनाउँदा सेसे बाउले ३१, किप्लिङ डोरिगाले २९ र नोर्मन भउनाले २५ रन बनाए।
बलिङतर्फ नेपालका गुलसन झाले सर्वाधिक ३ विकेट लिँदा कुशल मल्लले २ तथा सोमपाल कामी, करण केसी र आजकै खेलबाट एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका प्रतिश जिसीले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको नेपालका लागि उत्कृष्ट सुरुवात गरेको नेपालका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेखले ७६ रनको साझेदारी गरे। अर्धशतकीय पारि खेलेका भुर्तेलले सर्वाधिक ५६ रन बनाउँदा शेखले ४४ रन बनाए। त्यसपछि आएका ज्ञानेन्द्र मल्ल ४ रन बनाउँदै पभेलियन फर्कँदा कप्तान रोहितकुमार पौडेल ब्याकटूब्याक ठूला सर्ट खेल्ने होडमा पीएनजीका कप्तान असद भालाको बलमा नोर्मन भौउनबाट क्याच आउट भए। त्यस्तै सम्हालिएको प्रदर्शन गरेका आरिफ शेखलले ३३ रन बनाउँदा दीपेन्द्रसिंह ऐरी २२ रनमा आउट भए।
बलिङतर्फ पीएनजीका असद भालाले सर्वाधि ३ विकेट लिँदा भौना र सेसे बाउले समान १ विकेट लिए।
जितसँगै नेपालले लिग २ मा पाँच खेलको जितको शृङखला बनाएको छ। २९ खेलबाट २८ अंक बनाउँदै तालिकाको छैटौँ स्थानमा रहेको नेपालले लिग २ शीर्षतीनमा रहेर विश्वकप छनोट खेल्ने सम्भावनालाई अझ कायम राख्न सफल भएको छ।
नेपालले अर्को खेलमा बिहीवार यूएईसँग खेल्नेछ। त्यसअघि मंगलवार पीएनजीले यूएईसँग खेल्नेछ।