PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

प्लास्टिकमा माटो हालेर ‘पावर बैंक’ भन्दै बिक्री गर्ने भारतीय पक्राउ



पहिलोपोस्ट

प्लास्टिकमा माटो हालेर ‘पावर बैंक’ भन्दै बिक्री गर्ने भारतीय पक्राउ

बुटवलः रुपन्देही प्रहरीले चिठ्ठामा पावर बैंक परेको भनेर प्लास्टिकका खोलमा माटो भरेर बिक्री गर्ने २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर जिल्ला चन्दनताय गाउँका २८ वर्षीय विवेक कुमार भट्ट र २५ वर्षीय सर्वेश कुमार भट्ट रहेका छन्। उनीहरुले नेपाली ५० रुपैयाँको चिठ्ठा काटेमा केही कपडा र एमआई कम्पनीको पावर बैंक पर्ने भनी झुक्याएर ठगी गर्दै आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए।

प्रवक्ता अर्यालका अनुसार उनिहरुले सैनामैना नगरपालिका १० सालझण्डीको झिमझीमेमा चिठ्ठा स्क्र्याच गर्दा पावर बैंक परेपछि थप एक हजार दुई सय रुपैयाँ लिएर तीन हजार दुइ सय रुपैयाँ पर्ने पावर बैंक भनेर प्लाष्टिकको खोल बेचेका थिए।

पावर बैंकमा चार्ज नभएको भन्दै ४/५ घन्टा चार्ज गरेपछि मात्र काम गर्छ भनी झुक्याएर ठगी गरेको प्रहरीले जनाएको छ। पावर बैंकको खोलभित्र गिलो माटो भेटेपछि स्थानीयले इलाका प्रहरी कार्यालय सालझण्डीलाई खबर गरेका थिए।

प्रहरीले उनीहरुको साथबाट यूपी ५५ एफ १५१९ नम्बरको स्पेन्डर मोटरसाइकल, तीन हजार ४२० रुपैयाँ नगदसहित ७९ थान स्क्र्याच कुपन, माटो भरेको पावर बैंक ६ र डाटा केबल ६ वटा बरामद गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell