PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

सेभेनथ्री स्पोर्ट्ससँग सम्झौता रद्द गर्ने क्यानको निर्णय, बक्यौता उठाउन कानुनी बाटो रोज्ने



पहिलोपोस्ट

सेभेनथ्री स्पोर्ट्ससँग सम्झौता रद्द गर्ने क्यानको निर्णय, बक्यौता उठाउन कानुनी बाटो रोज्ने
फाइल फोटो

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टी २० लिगको कमर्सियल तथा रणनीतिक साझेदार सेभेनथ्री स्पोर्ट्ससँग सम्झौता तोड्ने निर्णय गरेको छ। सुर्खेतको वीरेन्द्रनगरमा बसेको क्यानको साधारणसभाले सेभेनथ्री स्पोर्ट्सले सम्झौता अनुरुप काम नगरेको र स्पट फिक्सिङको विषयमा अदालतमा अभियोगपत्र दर्ता गराइएको उल्लेख गर्दै सम्झौता तोड्ने निर्णय गरेको हो।

‘निजले नेपाल क्रिकेट संघलाई भुक्तानी गर्न बाँकी बक्यौता रकम असुल उपर गर्नका लागि कानुनी प्रक्रिया अघि बढाउन केन्द्रीय कार्यसमितिलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरियो,’ क्यानको विज्ञप्तिमा भनिएको छ।

यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गठन गरेको छानबिन समितिले प्रतिवेदन सार्वजनिक गर्दै सम्झौता खारेज गर्न सुझाव दिएको थियो। प्रतिवेदनमा ‘प्रचलित ऐन, नियम बमोजिम प्रक्रिया नपुर्‍याई गरिएको नेपाल टी २० लिग सम्बन्धी सम्झौता तत्काल खारेज गर्न बाञ्छनीय भएको ठहर’ गरिएको थियो।

सेभेनथ्री स्पोर्ट्सले पहिल्यै भनेको थियो : सम्झौता तोड्छौँ

विवादै विवादमा फसेपछि टी २० क्रिकेटका रणनीतिक साझेदार सेभेनथ्री स्पोर्ट्सले नेपाल क्रिकेट संघसँगको सम्झौता एकतर्फी रुपमा तोडेको जतिन अलुवालियाले पहिलोपोस्टसँग बताएका थिए।

‘राष्ट्रिय खेलकुद परिषद्ले अनुमोदन नगरेका कारण क्यानसँग गरेको सम्झौता हामीले रद्द गरेका छौँ’, जतिनले पहिलोपोस्टसँग भने।

सेभेनथ्री स्पोर्ट्सले क्यानसँग ८ वर्षमा ३३ करोड दिने गरी सम्झौता गरेको थियो। आफूहरुले ठूलो क्षति व्योहर्दै यो सम्झौता तोडेको जतिनको तर्क छ।

‘हामीले लामो समयका लागि सम्झौता गरेका थियौँ। तर, क्यानले राष्ट्रिय खेलकुद परिषद्बाट यो सम्झौता अनुमोदन गर्न सकेन’, जतिनले सम्झौता तोड्नुको कारण उल्लेख गर्दै भने, ‘हामी गलत बाटोबाट जान चाहेन्नौँ।’

सरकारी स्तरबाट कानुनी रुपमा स्वीकृति प्राप्त भएमात्र यो सम्झौता अघि बढ्नसक्नेसमेत उनले बताएका थिए।

टी २० क्रिकेट प्रतियोगितामा ‘स्पट फिक्सिङ’ र ‘बेटिङ’ भएको आरोप लागेपछि जतिन भारत गएका थिए। अनुसन्धान सुरु भएसँगै प्रतियोगितामा देखिन छाडेपछि जतिन फरार भएको आरोप लागेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell