PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

५ केन्द्रीय सदस्यलाई स्पष्टीकरण सोध्ने क्यान साधारणसभाको निर्णय, केन्द्रीय सदस्यको तर्क : हामीले ठीकै गरेछौँ



मुकुन्द घिमिरे

५ केन्द्रीय सदस्यलाई स्पष्टीकरण सोध्ने क्यान साधारणसभाको निर्णय, केन्द्रीय सदस्यको तर्क : हामीले ठीकै गरेछौँ
फाइल फोटो

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले पाँच जना केन्द्रीय सदस्यलाई संघलाई बदनाम गराएको र निलम्बनमा लैजान खोजेको भन्दै स्पष्टीकरण सोध्ने भएको छ। स्पष्टीकरण सोधिने केन्द्रीय सदस्यहरुमा संजयराज सिंह, मोहम्मद दाउद अन्सारी, ऋषिराम गौतम, अमीतवीर पाण्डे र करण महतारा छन्।

उनीहरुले संघको विधानविपरित संघका विरुद्ध पत्रकार सम्मेलन गरेको, संघलाई निलम्बन गराउने उद्देश्यले क्रियाकलापहरु गरेको लगायतको आरोप लगाइएको छ।

‘कार्यसमिति सदस्यहरुले विधानमा तोकिएबमोजिम काम, कर्तब्य र अधिकार विपरित कार्यसमिति बैठकमा उपस्थित नहुने साथै नेपाल क्रिकेट संघको सर्वोच्च निकाय केन्द्रीय साधारणसभामा समेत उपस्थित नभएर गम्भीर त्रुटी गरेको ठहर छ’, क्यानको विज्ञप्तिमा भनिएको छ, ‘निजहरुलाई अविलम्ब स्पष्टीकरण सोधी चित्त बुझ्दो जवाफ नआए निलम्बनको समेत कारबाही गर्न यो साधारणसभा केन्द्रीय कार्यसमितिलाई निर्देशन गर्दछ।’

त्यस्तै, वाग्मती क्रिकेट संघका अध्यक्ष राजु बस्न्यातले केन्द्रीय कार्यसमिति निलम्बन गरिपाउँ भनेर राखेपमा दिएको निवेदनको प्रमाण आफूहरुसँग भएको भन्दै स्पष्टीकरण सोध्ने भएको छ। काठमाडौं जिल्ला क्रिकेट संघले पनि केन्द्रीय कार्यसमितिको निर्देशन उल्लङ्घन गरेर साधारण सभामा प्रतिनिधि नपठाएकोमा पनि स्पष्टीकरण सोध्ने भएको छ।

कार्यसमिति भित्रको लामो टसल

क्यानको केन्द्रीय कार्यसमितिभित्रको यो टसल नयाँ भने होइन। नेपाल टी २० लिगलाई लिएर सेभेनथ्री स्पोर्ट्ससँगको सम्झौताको समयबाटै केन्द्रीय कार्यसमितिका सदस्यहरुले पत्रकार सम्मेलन गर्दै विरोध गरेपछि क्यानको भित्री विवाद छताछुल्ल भएको थियो। त्यसयता पाँचजना सदस्यहरु बोर्डभित्र एककित्तामा र संस्थापन पक्ष अर्को कित्तामा उभिएका थिए।

नेपाल टी २० लिग पछि पत्रकार सम्मेलन गर्दै यी सदस्यहरुले जिम्मेवार संस्थाका जिम्मेवार पदाधिकारीहरुले गल्ती स्वीकार गरेर मात्र नपुग्ने भन्दै क्यानको कार्यसम्पादन समितिका सबैले राजीनामा दिनुपर्ने माग गरेका थिए। राजीनामा गरेर नेतृत्वले नेपाल टी-२० लिगका दौरान भएका गल्तीको छानबिन गर्न सम्बन्धित निकायहरुलाई सघाउनु पर्ने उनीहरुको माग थियो।

क्यान कार्यसम्पादन समितिमा रहेका चतुर बहादुर चन्द, प्रशान्त विक्रम मल्ल, रोशन सिंह, दुर्गाराज पाठक र पदक खड्काले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने सदस्यहरुले माग गरेका थिए। त्यस्तै, नेपाल टी २० लिगको गभर्निङ काउन्सिलमा रहेका संयोजक प्रशान्तविक्रम मल्ललगायत दुर्गाराज पाठक, भानुभक्त सिग्देल, अशोक मल्होत्रा र सेभेनथ्री स्पोर्ट्सका जतिन अलुवालियालाई समेत कारबाहीको दायरामा ल्याउनुपर्ने माग राखेका थिए।

त्यस्तै, लगत्तै पोखरामा क्यानको बोर्ड बैठक बस्यो। तर, यी सदस्यहरुले क्यान अध्यक्षलगायतको राजीनामा माग्दै बैठक बहिस्कार गरे। पछि पत्रकार सम्मेलन गरेर बैठकमा बस्न नसकिने बताएका थिए।

साधारणसभा पनि बहिस्कार, राखेपमा उजुरी

आइतवारबाट वीरेन्द्रनगरमा क्यान साधारणसभा चलिरहँदा काठमाडौंमा भने केही केन्द्रीय सदस्य क्यान नेतृत्वविरुद्ध निवेदन नै लिएर पुगेका छन् राष्ट्रिय खेलकुद परिषद्मा। क्यानका पाँच जना निर्वाचित सदस्य र दुई जना राखेप प्रतिनिधिसमेत रहेका केन्द्रीय सदस्य गरी सात जनाले राखेपमा निवेदन दर्ता गराएका थिए।

उनीहरुको आरोप थियो - प्रशान्तविक्रम मल्ललाई विधान विपरित कार्यवाहक सचिव बनाएको र फेरि दुर्गाराज पाठकलाई पनि त्यसरी नै विधानबाहिर गएर जिम्मेवारी दिएको।

त्यस्तै, लिगमा गडबढी भएपछि सिर्जना भएको करोडौँको आर्थिक दायित्व कसले बहन गर्ने भन्ने प्रश्नसमेत उनीहरुले निवेदनमा उठाएका थिए।

‘यसरी विवादै विवादका बिच जबरजस्ती लिग सन्चालन गरी खेलाडीको पारिश्रमिकलगायत अन्य कुराबाट सिर्जित करौडौं दायित्वको जिम्मेवारी कसको हुने हो?’, निवेदनमा प्रश्न गरिएको छ, ‘संघका अध्यक्षले मिडियामार्फत सबै दायित्व क्रिकेट संघले बहन गर्छ भन्ने आधारहरु के हुन्? खेलाडीहरुको दायित्व फ्रेन्चाइजको नभइ कसरी संघको हुन सक्छ?’

थप प्रश्न थियो : क्रिकेट संघले कुनै व्यक्ति विशेषको स्वेच्छाचारी निर्णयको भारी किन र कसरी बोक्दछ? आयोजनाबाट दायित्व कसरी संघको हुन्छ?

स्पष्टीकरण सोध्ने निर्णयपछि अब के?

क्यान साधारणसभाको स्पष्टीकरण सोधेर निलम्बन गर्ने निर्णयबारे प्रतिकृया दिँदै केन्द्रीय सदस्य ऋषिराम गौतमले क्यानले पत्रकाटे पछि के गर्ने भन्नेबारे निर्णय गर्ने बताए।

‘पहिला पत्र काटुन्, त्यसपछि केही गरौँला। हामीले पोखराकै बैठकमा निवेदन पेश गरेका थियौँ। अध्यक्ष लगायत कार्यकारी समितिका सदस्यहरुको राजीनामा नआउन्जेलसम्म हामी बैठकमा बस्न सक्दैनौँ भनेका थियौँ’, गौतमले भने, ‘त्यसपछि उहाँहरुले हामीसँग सम्पर्क गर्नु भएको छैन।’

आफ्नो मागलाई सम्बोधन नगरिकन गरिएको साधारणसभामा जानुको औचित्य नभएकाले सुर्खेतको साधारणसभामा आफूहरु नगएको बताए।

उनीहरुमाथि क्यान नेतृत्वले लगाएको अर्को आरोप हो : केन्द्रीय सदस्यहरु संघलाई बदनाम र निलम्बन गराउन चलखेल गरे।

तर, गौतम यसलाई ठाडै अस्वीकार गर्छन्।

‘वार्ता गर्नुपरेन उहाँहरुले हामीसँग?’, उनी प्रश्न गर्छन्, ‘क्यान निलम्बन गराउन त उहाँहरु लाग्नु भएको हो, हामी त बचाउन लागेका हौँ। उनीहरुले गल्ती गरेको त एजीएमको निर्णयबाटै प्रमाणीत भइसक्यो।’

उनले भने : सेभेनथ्री स्पोर्ट्ससँग सम्झौता रद्द गरेर पैसा माग्ने भनेर जुन निर्णय गरिएको छ त्यो हामीले उठाएको कुरा सही थियो भन्ने त प्रमाणीत भयो त।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell