फुटबलकै सर्वकालिन महान् खेलाडी मध्येका एक लियोनल मेस्सीले सन् २०२२ को फिफा पुरुष वर्ष खेलाडीको उपाधि जितेका छन्। सो अवार्ड अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले जितेसँगै फ्रेन्च स्ट्राइकर किलियन एम्बाप्पेले आफ्नो बोली फेरेका छन्।
मेस्सी र रोनाल्डोमध्ये को उत्कृष्ट भन्ने 'डिबेट' पछिल्लो दशकअघि देखि नटुंगिने बहस हो। मेस्सी बार्सिलोना र रोनाल्डो रियल मड्रिडमा हुँदादेखि नै उनीहरुको प्रतिद्वन्दीतालाई लिएर समर्थकहरु विभाजित बन्दै गएका थिए। अघिल्लो वर्ष कतारमा मेस्सीले विश्वकप उपाधि जितेपछि दशक बढी लामो बहसलाई अन्त्य गरे भनेर तर्क गर्ने जमात पनि फुटबल वृत्तमा ठूलै छ।
मेस्सीको ब्याक टू ब्याक सफलता कोपा अमेरिका, विश्वकप देखि लिगसम्म देखिइरहेका छन्। यसबिच पीएसजीका स्टार एम्बाप्पेले मेस्सी रोनाल्डो बहसमा 'यूटर्न' लिएको देखिएको हो। एम्बाप्पेका बुवाले २०१६ मा एक कार्यक्रममा बोल्दै एम्बाप्पेको आदर्श रोनाल्डो भएको बताएका थिए।
'एम्बाप्पे रियल मड्रिडका समर्थक हुन्। उसको आदर्श रोनाल्डो हुन्। उ घण्टौँसम्म इन्टरनेटमा रोनाल्डोको खेलहरु हेरेर बिताउने गर्दथ्यो,' उनले भनेका थिए।
त्यस्तै अर्को दाबी एम्बाप्पेका पूर्व 'टिममेट' अबडोउ डियालोले पनि गरेका थिए।
'एम्बाप्पेका लागि सबैथोक रोनाल्डो थिए। उसँग मेस्सी र रोनाल्डो बहस निकाल्ने हो भने उ घण्टौँसम्म रोनाल्डोको पक्षमा बहस गर्न तयार हुन्थ्यो। उसका लागि रोनाल्डो 'अनटचेबल' थिए,' डिसेम्बरमा डियालोले भनेका थिए।
मेस्सीले गएको वर्ष अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउन अहम भूमिका खेलेका थिए। त्यस्तै मेस्सी र एम्बाप्पे दुबै फिप्रो विश्व ११ मा परेका थिए।
अवार्ड पछि एम्बाप्पेले आफ्नो र मेस्सीसँगको तस्विर इन्स्टाग्राममा राख्दै लेखेका छन्: अब फेरि अर्को ट्रफी। लियोनल मेस्सीलाई बधाइ छ। तिमी सर्वोकृष्ट हौ।
सानदार लयमा रहेका मेस्सी र एम्बाप्पे फ्रेन्च क्लब पीएजीमा साथमा खेल्छन्। उनीहरुले लिग वानको ट्रफीको जितको नजिक छन्।
मेस्सी वर्ष सर्वोत्कृष्ट
मेस्सी किलियन एम्बाप्पे र करिम बेन्जेमालाई पछि पार्दै फिफाको २०२२ को उत्कृष्ट वर्ष खेलाडी बन्न सफल भएका हुन्। त्यस्तै अर्जेन्टिनालाई च्याम्पियन बनाएका लियोनल स्कालोनी पेप ग्वार्डिओलालाई पछि पार्दै उत्कृष्ट पुरुष प्रशिक्षक बने।
महिलातर्फ बार्सलोनाकी एलेक्सिया पुटेलस उत्कृष्ट वर्ष खेलाडी बनिन्। महिला उत्कृष्ट प्रशिक्षक इङ्ग्ल्याण्डकी प्रशिक्षक सेरिना विइगमेन बनिन्।
एस्टोन भिल्लाका अर्जेन्टिनी गोलकिपर इमिलिआनो मार्टिनेज उत्कृष्ट वर्ष गोलकिपर बने।