हेटौंडा : हात्तीको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई १/१ लाख रुपैयाँ राहत दिने वाग्मती प्रदेश सरकारले निर्णय गरेको छ। मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले हात्तीको आक्रमणबाट मृत्यु भएकाको परिवार राहत दिने निर्णय गरेको हो।
हात्तीको आक्रमणबाट मृत्यु भएका मकवानपुरको मनहरी-४ की ६४ वर्षीया राधा अधिकारी, बकैया-५ का सन्तलाल माझी र कमलामाई-१३ सिन्धुलीका ४० वर्षीय डण्डपाणी पौडेलको परिवारलाई क्षतिपूर्ति स्वरुप १/१ लाख रुपैयाँ राहत दिने निर्णय भएको आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले जानकारी दिए।
अधिकारीको ८ गते, माझीको ११ गते र पौडेलको १३ गते हात्तीको आक्रमणबाट मृत्यु भएको थियो। यसैगरी, आज नै बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सुशासन केन्द्रका निर्देशक बिमल पोख्रेलले दिएको राजीनामा पनि स्वीकृत गरेको मन्त्री थपलियाले जानकारी दिए।