PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

पल्सर स्पोर्टस अवार्डमा चार विधाको मनोनयन सार्वजनिक, को को भए 'नोमिनेट'?



पहिलोपोस्ट

पल्सर स्पोर्टस अवार्डमा चार विधाको मनोनयन सार्वजनिक, को को भए 'नोमिनेट'?

काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले पल्सर स्पोर्टस अवार्ड अन्तर्गत चार विधाको मनोनयन सार्वजनिक गरेको छ।

खेल क्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने खेलाडी, प्रशिक्षक, खेलकर्मी वा संस्थालाई मञ्चले हरेक वर्ष सम्मानित गर्दै आएको छ।  फागुन २३ मा हुने १९ औं संस्करणको पल्सर स्पोर्ट्स अवार्डका लागि मञ्चले विभिन्न विधामा मनोनयन सार्वजनिक गरेको हो।

मञ्चले ९ विधामा खेलाडी र खेलकर्मीलाई सम्मानित गर्न गइरहेको एनएसजेएफले जनाएको छ। मञ्चले पिपल्स च्वाइस विधाको मनोनयन यसअघि नै सार्वजनिक गरिसकेको छ। त्यसमा क्रिकेटका आसिफ शेख, फुटबलका अञ्जन विष्ट, टेनिसकी अभिलाषा विष्ट, पौडीकी डुवाना लामा र भलिबलकी उषा भण्डारी रहेका छन्। उनीहरूलाई समर्थकबाट भोटिङ आउनेक्रम जारी रहेको आयोजकले जनाएको छ।

पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत लाइफटाइम एचिभमेन्ट, पारा एथलिट, स्पेसल, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधाको विजेता घोषणा कार्यक्रम हुने दिन फागुन २३ गते नै घोषणा गरिनेछ।

मंगलवार वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट महिला खेलाडी र वर्षका उत्कृष्ट युवा खेलाडीका साथै वर्षका उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरिएको छ।

यसपटक वर्ष पुरुष खेलाडीको मनोनयनमा फुटबलका अञ्जन विष्ट र किरण चेम्जोङ, क्रिकेटका कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी तथा ब्याडमिन्टनका प्रिन्स दाहाल परेका छन्।

वर्ष महिला खेलाडीको मनोनयनमा भलिबलकी अरुणा शाही, क्रिकेटका रुबिना क्षेत्री र सीता रानामगर, एथलेटिक्सकी पुष्पा भण्डारी र बक्सिङकी पुनम रावल परेका छन्।

त्यस्तै, वर्ष युवा खेलाडीको मनोनयनमा फुटबलका मनीष डाँगी, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, ब्याडमिन्टनकी रसिला महर्जन, फुटबलकी प्रीति राई र भलिबलकी उषा भण्डारी रहेका छन्।

वर्ष प्रशिक्षकतर्फ फुटबलका कुवेती अब्दुल्लाह अलमुताइरी, क्रिकेटका अस्ट्रेलियन डेव ह्वाटमोर, पारा तेक्वान्दोका कविराज नेगी, बक्सिङका दीपक महर्जन, र भलिबलका जगदीश भट्ट मनोनयनमा परेका छन्।

वर्ष पुरुष, महिला, पिपल्स च्वाइस र वर्ष प्रशिक्षकका विजेताले पल्सर मोटरसाइकल पाउने छन्। यसपटक युवाका विजेतालाई पनि पल्सर मोटरसाइकल प्रदान गरिने मञ्चले जनाएको छ।

त्यस्तै अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell