PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

यू-१९ मा लगातार चौथो जित : नेपालद्वारा मलेसिया १० विकेटले पराजित



पहिलोपोस्ट

यू-१९ मा लगातार चौथो जित : नेपालद्वारा मलेसिया १० विकेटले पराजित
फाइल फोटो: आईसीसी/क्यान

काठमाडौं : यू-१९ विश्वकप एसिया छनोट अन्तर्गत आज सम्पन्न खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ। यूएईस्थित मलेक क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले मलेसियालाई १० विकेटले हराएको हो।

टस जितेर ब्याटिङमा उत्रिएको मलेसियाले ३५.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले बिना कुनै विकेटको क्षति १० औं ओभरमै लक्ष्य भेट्टाएको हो।

सुरुवाती ब्याटिङमा उत्रिएको मलेसियाका लागि मोहम्मद अक्रमले सर्वाधिक २६ रन बनाउँदा मोहम्मद हैरिल र मोहम्मद स्यामेलले समान १२ रन बनाए। त्यसबाहेकका ब्याट्सम्यानले दोहोरो अंकको रन छुन सकेनन्। बलिङतर्फ नेपालका दीपेश कणेलले सर्वाधिक ४ विकेट लिँदा आकाश चन्दले ३, मिलन बोहोराले २ तथा सुवास भण्डारीले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले दीपक बोहोराको अविजित ३८ र अर्जुन कुमालले अविजित २१ रन बनाए।

जितसँगै नेपाल लगातार ४ खेलमा जित निकाल्दै ८ अंक जोडेर तालिकाको शीर्षस्थानमा उक्लिएको छ। दोस्रो स्थानमा रहेको यूएईले ३ खेलबाट ६ अंक जोडेको छ। यूएई कुवेतसँग प्रतिस्पर्धा गरिरहेको छ। मलेसिया भने ४ खेलबाट २ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ।

नेपालले पहिलो खेलमा सिंगापुरलाई र दोस्रो खेलमा कुवेतलाई हराएको थियो। नेपालले सिंगापुरमाथि ९६ र कुवेतमाथि २४३ रनको फराकिलो जित निकालेको थियो। त्यस्तै तेस्रो खेलमा हङकङलाई ९ विकेटले हराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell