PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

एल साल्भाडोरमा ग्याङ्स्टरविरुद्ध युद्ध : 'मेगा जेल'मा थुनिँदै शरीरभर ट्याटु खोपेका हजारौं युवा

एल साल्भाडोरमा ग्याङ्स्टरविरुद्ध युद्ध : 'मेगा जेल'मा थुनिँदै शरीरभर ट्याटु खोपेका हजारौं युवा

पहिलोपोस्ट /पहिलोपोस्ट


एल साल्भाडोर का राष्ट्रपति नाइब बुकेलेले 'ग्याङ्स्टर'हरु विरुद्ध 'युद्ध' घोषणा गरेपछि हजारौं मानिस पक्राउ परिरहेका छन्। ग्याङ्स्टरहरुप्रति निर्मम बनेका बुकेलेले उनीहरुलाई थुन्न 'मेगा जेल' नै बनाएका छन्।

४० हजारलाई राख्न सक्ने क्षमताको नयाँ जेल 'सेन्टर फर द कन्फाइन्मेन्ट अफ टेरोरिजम' मा पहिलो चरणमा दुई हजार संदिग्ध ग्याङ्स्टरहरुलाई राखिएको छ। शरीर भरि ट्याटु खोपेका पुरुषहरु हातमा हतकडी लगाउँदै प्रहरीको आदेश पालना गरिरहेको तस्विर र भिडियो सार्वजनिक भएका छन्। कपडाको नाममा 'ह्वाइट बक्सर' मात्र लगाएका ग्याङ्स्टर सबैका कपाल खौरिएको छ। हतियार सहितका प्रहरीले पालै पालो उनीहरुलाई पुरानो जेलबाट निकालेर बसमा चढ्न आदेश दिन्छन्। हातमा हतकडी लगाएका ग्याङ्स्टरहरु पनि भागेर बसमा चढ्छन्। उनीहरुलाई नयाँ जेलमा लगिरँदा बस गुडेको क्षेत्रमा हेलिकप्टरले गस्ती गरिरहेको थियो।  

एल साल्भाडोरका राष्ट्रपति बुकेलेले अमेरिकी महाद्वीपकै ठूलो जेल भएको बताएका छन्।

'यो उनीहरुका लागि नयाँ जेल हुनेछ जहाँ उनीहरु दशकौंसम्म बस्नेछन्,' समातिएका ग्याङस्टरहरुलाई लक्षित गर्दै बुकेलेले भनेका छन्,'अब उनीहरुले जनतालाई हानी पुर्‍याउने छैनन्।'

बुकेलेले ग्याङ्स्टरविरुद्ध छेडेको 'वार'को मानवअधिकारवादी संस्थाहरुले आलोचना गरिरहेका छन्। ह्युमन राइट्स वाचले अहिले एल साल्भाडोर मा गैर न्यायिक पक्राउका घटना बढ्नुका साथै पक्राउ परेकाहरु माथि अत्याचार र शोषण भएको उल्लेख गरेको छ।

नयाँ जेल पुगेपछि पनि ग्याङ्स्टरहरुलाई एकै ठाउँमा राखिन्छ। भुइँमा बस्न लगाएर प्रहरीले उनीहरुको विवरण टिप्छन्। जेलको वार्डेनका अनुसार सो जेलामा रहने कैदीहरुलाई भुइँमा ओछ्याउन डसनासमेत नदिइने बताएका छन्।

'हामी यो क्यान्सरलाई समाजबाट मुक्त गरिरहेका छौं,' एल साल्भाडोर का न्याय र जनसुरक्षा मन्त्री गुस्ताभो भिल्लातोरोले भने,' यो कुरा बुझे हुन्छ कि तिमीहरु यो जेलबाट बाहिर आउने छैनौ। तिमीहरु जे हौ त्यसको मूल्य तिमीहरुले चुकाउनुपर्नेछ।.. कायर आतंकवादीहरु।'

करिब एक वर्ष अघि बुकेलेले ग्याङहरुविरुद्ध 'वार' घोषणा गरेका थिए। सन् २०२२ को डिसेम्बरसम्ममा एल साल्भाडोरको युवा जनसंख्याको दुई प्रतिशत पक्राउ परिसकेका छन्। करिब एक लाख व्यक्ति अहिले जेलमा छन्। विभिन्न ग्याङहरुले समाजमा अशान्ती फैलाउन थालेपछि बुकेले आक्रमक शैलीमा पक्राउ परेका हुन्। मार्चमा दर्जनौं व्यक्तिको हत्या हुने गरि अशान्ती फैलिएपछि एल सालभाडोरमा संकटकाल लागू गरिएको थियो।

Photo : AFP / Aljazeera



ट्रेन्डिङ पोस्ट

Ncell