PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मौन प्रकृतिलाई चित्रबाट अभिव्यक्त गर्दै सरिता डंगोल, प्रदर्शनीमा खुर्सानीसँगको यात्रा

मौन प्रकृतिलाई चित्रबाट अभिव्यक्त गर्दै सरिता डंगोल, प्रदर्शनीमा खुर्सानीसँगको यात्रा

लक्ष्मी बलायर/पहिलोपोस्ट


ललितपुर : ग्यालरीभित्र जाने बित्तिकै लहरै देखिन्छन् खुर्सानीहरु। कुनै सिधा त कुनै बाङ्गिएका अनि केही चाउरिएका र सुकेका पनि। भित्ताभर रातो, पहेलो, हरियो र बैजनी लगायत रंगमा खुर्सानीका विविध आकृतिहरु। खुर्सानीका ती अनेकरुप र आकृतिहरुले 'पिरो' खुर्सानीको यात्रा बोल्दै थियो।

दृश्य हो ललितपुरको मिखाबहालस्थित नेवा: छेँ आर्ट ग्यालरीको। जहाँ कलाकार सरिता डंगोलको ‘एन ओडिस्से विथ चिल्ली’(खुर्सानीसँगको यात्रा)शीर्षकमा एकल प्रदर्शनी चलिरहेको छ।

३० वर्षदेखि पेन्टिङमा सक्रिय नाम हो सरिता डंगोल। ‘फाइन आर्टस्’ मा स्नातकोत्तर गरेकी सरितालाई प्रकृतिसँग नजिक रहेर काम गर्न मन पर्छ। त्यसैले त उनी प्रकृतिका विषयवस्तुलाई पेन्टिङमा उतार्छिन्। यसपटकको प्रदर्शनीमा पनि सरिताले खुर्सानीलाई 'थिम' बनाएर क्यानभासमा प्रस्तुत गरेकी छिन्।

‘खुर्सानी’ विषयवस्तु समाजसँग जति नजिक छ त्योभन्दा बढी सरितासँग छ। खुर्सानीसँग उनको बाल्यकाल र भावना जोडिएको छ।

‘मेरो खुर्सानीसँग भावनात्मक नाता जोडिएको छ। ११ वर्षकी हुँदा आमा पसलमा काम गर्नुहुन्थ्यो। घरको ठूलो म भएका कारण आमालाई खाना पुर्‍याउने जिम्मा मेरो काँधमा थियो। मैले खाना लैजाँदा हजुरआमाले जहिल्यै खानासँगै खुर्सानी राख्न भन्नुहुन्थ्यो। यसरी खुर्सानी राख्दा भूत प्रेतले छुँदैन भन्ने विश्वास छ। त्यही बाल्यकालको कुराले प्रेरित भएर नै खुर्सानीको पेन्टिङ गर्ने सोच आएको हो,’ डंगोलले भनिन्।

नेपाली समाज र संस्कारसँग खुर्सानीको 'कनेक्सन' भएकाले यो 'थिम'मा प्रदर्शनी गरेको उनले बताइन्।

भनिन्, ‘हाम्रो समाजमा खुर्सानीलाई फरक फरक तरिकाले हेरिन्छ। हाम्रो संस्कृतिमा खुर्सानी प्रयोग गर्नासाथ नकरात्मक कुरालाई हटाउने भन्ने कन्सेप्ट छ। त्यही सानो थिमलाई समातेर हाम्रो समाजमा संस्कृति र संस्कारमा कसरी हेर्छ? भनेर मैले आर्टको माध्यमबाट दर्शकहरुसँग कनेक्ट गर्न खोजेको हुँ।’

नेवा: छेँमा चलिरहेको प्रदर्शनी सरिताको १५ औँ एकल प्रदर्शनी हो। सन् २०१३ मा पहिलोपटक सरिताले खुर्सानीको पेन्टिङ बनाएकी थिइन्। त्यसबेलाको चित्र नभए पनि सन् २०१६ देखि हालसम्मको पेन्टिङको 'कलेक्सन' उनले यो एकल प्रदर्शनीमा राखेकी छिन्। ग्यालेरीमा उनले बनाएका २४ पेन्टिङहरु राखिएका छन्।

यसअघि ‘रुख’ श्रृखंलामा काम गरिसकेकी सरिताको प्रकृतिप्रतिको लगाव बिछट्टै छ। बोल्न नसक्ने प्रकृतिको कुरा अभिव्यक्तिको माध्यम आफू बन्न खोजेको उनी सुनाउँछिन्।

‘प्रकृति बोल्न सक्दैन। न त महसुस गर्न सक्छ न त अभिव्यक्ति नै। त्यो कुरालाई चाँहि एउटा आर्टिस्टको भावना जोडेर व्यक्त गर्न खोजेकी हुँ। यो सिरिजमा प्रकृतिमा रंग परिवर्तन भइरहेको कुरा छन्। खुर्सानीको थिम स्वादभन्दा पनि मानविय संवेदना र संस्कारसँगको जोडिएको छ। अहिले पनि घरको ढोकामा र बसमा कागती र खुर्सानीको झुप्पा राख्ने चलन छ।’

उनको पेन्टिङमा खुर्सानीको जीवनचक्र मात्रै नभई महिला, सम्बन्ध र ‘बार्टर सिस्टम’का कुराहरु पनि समेटिएका छन्।

ग्यालेरिमा रहेको एउटा पेन्टिङमा खुर्सानीहरु उड्न खोजिरहेको देखाइएको छ। त्यहाँ खुर्सानीलाई महिलाको रुपमा चित्रण गरिएको बताउँछिन सरिता।

'खुर्सानीलाई पनि चराझै उड्न मन लाग्छ। उड्न खोज्दा पनि उनीहरुलाई छेकिरहेको छ। जुन महिलाहरुसँग सम्बन्धित छ। किनकी हामीलाई पनि खुलेर र स्वतन्त्र भएर काम गर्न मन लाग्छ। तर, कति धेरै कुराहरुलाई बाँधिरहेको हुन्छ त्यही कुरालाई देखाउन खोजेकी छु।'

२०७२ सालमा भुकम्प गएपछिका घटनालाई जोडेर पनि उनले पेन्टिङ बनाएकी छिन्। ख्वापा (मुकुन्डो)मा खुर्सानीको झुण्ड्याउने कुरा थाहा पाएपछि उनले त्यसही 'कन्सेप्ट'मा चित्र बनाइन्।

‘भुकम्पको बेला म घुम्दै जाँदा एउटा माक्स डान्सरको घरमा पुगेकी थिए। जहाँ अध्यारो कोठामा मुकुन्डोसँगै खुर्सानीहरु पनि राखिएको देखेँ। उहाँहरुले पनि आँखा नलागोस् भनेर खुर्सानी राखिएको भन्नुभयो। त्यही कुरालाई मैले पेन्टिङमा उतारेकी छु।’

उनको पेन्टिङ प्रदर्शन थप एक हप्ता चल्नेछ।



ट्रेन्डिङ पोस्ट

Ncell