PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

किनारा लागेका जोडीको कथा भन्ने ‘सुनाखरी’ : सुन्दैनन् सन्तान, चिन्दैन सरकार



लक्ष्मी बलायर

किनारा लागेका जोडीको कथा भन्ने ‘सुनाखरी’ : सुन्दैनन् सन्तान, चिन्दैन सरकार

पहाडको टुप्पोमा सानो घर छ। घर पनि के भन्नु- ठेट बोलीमा छाप्रो। फलेकले बारेको, चोयाको चित्राले छाएको। रुघ्न छाप्रोमा आफ्नो प्रेमिल जीवनमा पेन्सन पकाइसकेका दम्पतीको जीवन चलिरहेको छ।

वस्तुभाउ उनीहरुको मन भुलाउने आधार। उनीहरुबिच प्रेम अथाह छ तर एउटै फोटोले फाटो नै ल्याइदिन्छ त्यो सम्बन्धमा। अनि चित्त दुखाईमा बुढेसकाल लागेकी कुशमाया माइत हिँड्छिन्। कुमारध्वजकै कारण यो सब भइरहेको छ। कुशमाया कुम्लो बोकेर माइत हिँड्दा कुमारध्वज चोयाको चित्रा बुन्न थाल्छन्।

रुघ्न होस् नै किन बुन्ने जिम्मेवारी कुमारध्वजको काँधमा जो छ। सन्तान विदिशिएपछि कुन बुवाको मन विरक्तिन्न होला- अनि आफ्नै सन्तानको एउटै चिनोले फालिँदा कुन आमाको चित्त दुख्दैन होला र? यही द्वन्द्वबाट सुरु हुन्छ म्युजिकल फिल्म ‘सुनाखरी’को कथा।

कुमारध्वज राई र कुशमाया राई ‘ननएक्टर’ रिलमा मात्रै होइनन् रियल जोडी हुन्। भिडियोमा देखिएको कथाकै आसपास छ उनीहरुको दैनिकी पनि।

***

‘नेपाली आमाबुवाको बुढेसकालमा छोराछोरीसँग बस्ने भाग्य नै छैनजस्तो लाग्छ!’ सुनाखरीका निर्देशक नवीन चौहान भन्दै थिए। जुन अभिव्यक्तिले विदेशिनेलाई मात्रै होइन उनीजस्तै शहर पसेकालाई पनि घोच्छ।

युवाहरु सहर पस्ने अनि विदेशिने लहर कसले रोक्न सक्ला? करियर बनाउने होडले सन्तान गाउँबाट पलायन हुँदैछन्। बुढेसकालमा सन्तानको टेको भनेको सम्झनामात्रै हो। जसकारण वृद्ध दम्पती एकअर्काको सहारा बनेर चित्त बुझाइराखेका छन्। त्यही बुढेसकालको अहिलेको जीवनशैलीलाई ‘सुनाखरी’मार्फत प्रस्केका छन् चौहानले।

बिनायोजना बनेको भएपनि ‘सुनाखरी’मार्फत सुन्दर कथा भनेको दाबी गर्छन् उनी। त्यसैले त राई दम्पतीसँगको भेट र सहकार्यको प्रसंग सुनाउन उत्साहित छन् नवीन।

२०७८ को पुस महिना। म्युजिकल फिल्म ‘घुमीघुमी’ छायाङ्कनको लागि नवीनसहितको टिम पाँचथर पुगेको थियो। सुटिङ सकिएपछि टिम काठमाडौं फर्कियो। तर त्यतै घर भएका नवीनलाई तत्कालै काठमाडौं फर्किहाल्न मन लागेन। उनीसँगै बसे सम्रान्त थापा र केर कोइच पनि। पाँचथरबाट झरेर उनीहरु इलामस्थित माइमझुवा र सन्दकपुरतिर घुम्न निस्के। त्यहाँका मानिसको दैनिकी र दृश्यहरु कैद गर्न थाले क्यामरामा।

घुमघामका क्रममा नवीनको मनमा एउटा ‘आइडिया’ फुर्‍यो। वुद्ध जोडीको कथा त्यतै वरपर खोज्ने। ‍अनि सम्झे : चाउरी परेको अनुहार र बुलाकी लगाएकी बुढी आमा। जुन उनको मोबाइलमा विगत केही समयदेखि थियो। जुन फोटो देखाउँदै उनले सम्रान्तलाई यस्तै जोडी खोजेर ल्याउन जिम्मा दिए।

चौहान भन्छन्, ‘मलाई केही अगाडिदेखि नै वुद्ध आमाबुवाको कथा भन्न मन थियो। तर, समय मिलिरहेको थिएन। अनुहारमा चाउरी परिसकेका जोडी जो धेरै वर्षदेखि सँगै बस्दै आउनुभएको छ। उहाँहरुबिच अथाह प्रेम भए पनि शब्दमा कहिल्यै व्यक्त गरिदैन। साँच्चै! उहाँहरुबिचको मायाप्रेम कस्तो हुन्छ होला? परिकल्पना गर्न थाले।’ ‍

पात्रको खोजीमा होमस्टेदेखि लेकसम्म

इलामस्थित सन्दकुपर गाउँपालिका माइमझुवा वरपर २०/२२ जोडी खोजियो। तर, मनले खाएको जोडी भेटाउनै मुस्किल। खोजेजस्तो जोडी नपाएपछि उनीहरु फर्के होमस्टे। त्यही होमस्टेकै सञ्चालकमार्फत उनीहरुले राई दम्पतीबारे जानकारी पाए।

होमस्टेबाट जान २ घण्टा लेकको खर्कतिर चढ्नुपर्ने। सूचना पाउनसाथ नवीनका साथीहरु दौडीहाले। फोटो र भिडियो खिचेर ल्याए। फोटो हेरेपछि खुसी भए नवीन। भोलिपल्टै साथीहरुसँगै लेकको छाप्रो पुगे नवीनसहितको टोली।

‍‘उहाँहरु सन्दकपुरको ठ्याक्कै वारिपट्टी बस्नुहुँदो रहेछ। म जाँदा बुवा भाँडा माझ्दै हुनुहुन्थ्यो। आमा भान्सामा। बुवा ७१ वर्षको अनि आमा ७३ वर्षको। बिहे भएकै ५० वर्ष बढी भइसकेको रहेछ। उहाँहरुले प्रेम इसारामै झल्किन्थ्यो,’ ‍नवीनले भने।

सुरुमा अभिनय गर्न मानेनन् राई दम्पतीले। ‘बुवा सकरात्मक भएपनि आमाले भने मान्नुभएको थिएन। आफूहरु मरेर गएपछि छोराछोरी रुन्छन् भन्नुभयो’, नवीनले थपे, ‘तर, बुवाले नै आमालाई यो त कृति रहन्छ भनेर सम्झाउनुभयो।’

कथा त खिच्ने। गीत कसले गाउँछन् त? नवीनले गायक उज्ज्वल सागरलाई सम्झे। उनले लेकमा भेटेका वृद्ध जोडीको कथा सुनाए। र, गीत गाउन प्रस्ताव राखे। उज्ज्वलसँग नवीनको तीन/चारवर्षअघि चिनजान थियो। तर, सहकार्य जुरिरहेको थिएन।

भिडियो त खिच्ने तर कथा चाँहि के बनाउने? उनीहरुको दैनिकी जीवनमा सन्तान विदेशिएको प्रसङ्ग जोडिदिए। कथा खिच्न तीन/चार दिन लाग्ला सोचेका थिए नविनले। किनकि उनीहरु एक त ‘नन्-एक्टर’ त्यसमाथि क्यामेरा कहिल्यै फेस नगरेका।

तर, सबै कुराहरु फटाफट भयो। रि-टेक धेरै लिनुपरेन। सुटिङ त १५ घण्टामै सकियो। छिनमै हुस्सु लाग्ने लेकमा मौसमको पनि साथ रह्यो। सुटिङकै क्रममा पानीसमेत पर्‍यो। पात्रसँगै ती दृश्यहरुकैद गर्दा भिडियो निकै राम्रो बनेको उनले सुनाए।

‘वास्तवकै सुटिङमा निकै रमाइलो भयो। त्यो ठाउँमा त मेडिटेसन गरेजस्तो भयो हामीलाई नि। पैसा दिँदा उहाँहरुले उल्टै हामीले दिनुपर्ने भन्नुभयो। पछि जसोतसो मनाएरमात्रै पैसा राख्न मान्नुभयो,’ नवीनले भने।

सुटिङ सकाएपछि काठमाडौं फर्किए। अनि भेटे उज्ज्वल र गीतकार हर्क साउँदलाई। दुबैलाई कथा सुनाए। हर्कलाई शब्द कोर्ने जिम्मा लगाए अनि उज्ज्वललाई कम्पोजको। हर्क तीनै गीतकार हुन् जसले चौहानका कथामा प्राण भरिदिएका छन्। त्यसैले त उनीहरुको यही समायोजनका कारण आर्टमाण्डुका गीत/भिडियोको बराबरी चर्चा हुने गर्छ। ‘के माया लाग्छ र?’, ‘तीनपाते’, ‘वाफ’ र ‘घुमीघुमी’ जस्ता गीतहरु साउँदकै रचना हुन्।

साउँदले आफ्नो कथालाई नजिकबाट बुझ्ने भएर सहकार्य निरन्तर भइरहेको सुनाउँछन् उनी। भन्छन्, ‘हर्क दाइले मेरो कथालाई मजाले बुझिदिनुहुन्छ। एकदम बुझेर गीत लेख्नुहुन्छ। जसकारण म हर्क दाइसँग कम्फर्टेबल महसुस गर्छु। साथै उहाँले केही चित्त नबुझ्दा २० औँ पटक पनि भन्ने सुविधा दिनुहुन्छ।’

नवीनले कथाअनुसार सुनाखरी जोडेर गीत लेख्न थालियो। ‘सुनाखरी’ अर्कैको आडमा फुल्ने फूल। जुन फूललाई किरात समुदायमा प्रेमको प्रतीकको रुपमा लिइन्छ। लिम्बु जोडीकै कथा भनिरहेको भएर गीतको शीर्षक ‘सुनाखरी’ राखिएको चौहान बताउँछन्। धेरै पछि गीत तयार भयो :

यो हाम्रो सेरोफेरो न तिम्रो न मेरो

बादलु किनार चाँदीको घेरो

यो घर कटेरी हाम्रो घरबार हो नि ज्यानमाया

ताराको छानो जूनैको दरबार हो नि ज्यानमाया

सुनाखरी टिपी सिउरी चुल्ठीमा

अल्झियो यो ज्यान पाते बुलाकीमा

शब्द तयार भएपछि उज्वलले पूर्वेली लोकभाकादेखि फ्युजन शैलीमा गीत कम्पोज गरे। त्यसपछि उज्वल र विद्या चापागाईको स्वरमा गीत रेकर्ड गरियो। आर्टमाण्डुको आफ्नै स्टुडियो छ। तर, गीतलाई राम्रो बनाउने मास्टरिङ र मिक्सिङ भारतको पुणेमा गरियो।

पहिले कथा अनि गीत

प्रायः म्युजिक भिडियो निर्देशकहरु गीत तयार भएपछिमात्रै भिडियो बनाउँछन्। तर, नवीनको भने काम गर्ने प्याटन फरक रहेछ। उनी पहिले कथा खिच्छन्, त्यसपछि मात्रै गीत तयार पार्न लगाउँछन्। ‘सुनाखरी’ मा यही विधि।

गीत पहिले तयार पार्दा भिडियो बनाउँदा सीमितता हुने नवीनको भनाइ छ। ‘गीत पहिले बनाउँदा गीतले सीमामा बाँधिदिन्छ। भिडियोमा मन लागेको स्टोरी भन्न छुट हुँदैन। यदि कथा नै प्रस्तुत गर्न खोजिरहेका छौँ भने त्यो कुनै कुराले नभड्कियोस् भन्ने चाहना हुन्छ। त्यही भएर मलाई पहिले भिडियो बनाउन मनपर्छ। आफ्नै प्रोडक्सन हाउस भएर सजिलो भएको छ।’

सुरुमा नवीनले तयार भएको गीतमा नै भिडियो बनाएका थिए। जुन गीत थियो : लुकीछिपी किन मायामा। गीतमार्फत राम्रो कथा भन्न खोजेका थिए उनले। कथाअनुसार भिडियो १२ मिनेट लामो भयो। तर, गीत ३ मिनेटको मात्रै हुँदा बाँकी भिडियो हटाउनुपर्‍यो। आफूले पूर्णकथा भन्न नपाउँदा नवीन निराश बने। अनि सोचे, ‘यो त भएन। यत्रो दु:ख गरेर स्टोरीको भिडियो बनाइयो। तर, आधा नी कथा आएन। गीतलाई पनि हानी भयो।’ तर, भाग्यवश त्यसवर्ष त्यो गीतले बेस्ट डारेक्टसन र बेस्ट म्युजिक अफ द इयर अवार्ड पाएको थियो।

त्यसपछि तिनै फुटेजहरु ‘लुकीछिपी पार्ट २- के माया लाग्छ र? गीतमा हालेर राखे। जुन गीत कोरोना महामारीबिच हिट भएको थियो। राम्रो कथा हुँदाहुँदै पनि एउटै गीतमा पूरा कथा देखाउन नसक्दाको थकथकी थियो नवीनमा। त्यसपछि उनले सुरुमा कथा बनाउने त्यसपछि मात्रै गीतमा तयार पार्न लगाउने शैली अपनाउन थाले।

तर, सबै गीतहरुमा भिडियो नै चाहिन्छ भन्ने नहुने उनको तर्क छ। ‘गीत आफैँमा सुन्दर कुरा हो। मलाई हरेक गीतको भिडियो बन्नुपर्छ जस्तो लाग्दैन। गीत भनेको सुन्ने कुरा हो। युट्युबले गर्दा भिडियोको कन्सेप्ट आएको हो। पहिले पनि त भिडियो नभएर अजम्बरी गीत बनेका छन् त?’ उनले थपे, ‘तर, जब केही कथा भन्नु छ भने त्यसमा भिडियो आवश्यक छ। आफूभित्रको कथा प्रस्फुटन गर्न र कथावाचन गर्न चाँहि गीतअनुसार चल्नु हुँदैन। किनकी गीतअनुसार चल्दा कथाको तालमेल मिल्दैन। म चाँहि गीतमा भिडियो बनाउने निर्देशकभन्दा पनि आफ्नै कथा भन्ने मान्छे हो। मेरो लागि गीत छुट्टै र भिडियो छुट्टै होइन।’

काम मन पराएर भिडियो निर्देशन गर्ने अफरको उनी स्वगात गर्छन्। तर, आफ्नो प्याटर्नअनुसार मात्रै सम्झौता हुँदामात्रै काम गर्न तयार हुने उनले बताए। भन्छन्, ‘यो बजार एक किसिमले चलेको छ भने म आफ्नै पारामा चलेको छु। अरु छिटोछिटो बनाउँछन् भने म समय लगाउँछु। जो अरुले नपर्खन पनि सक्छन्। यस गीतमा पनि धेरै मिहिनेत लागेको छ। गीत लेख्न र कम्पोज गर्न नै हामीलाई चार/पाँच महिना लागेको थियो। कुनै पनि चिज राम्रो हुनलाई त्यसमा एकदमै धेरै काम गर्नुपर्छ। एकैचोटी केही पनि राम्रो हुन सक्दैन। तर, फिल्म घोषणा गरेकै दिन प्रदर्शन मिति तोक्दा भने मलाई अचम्म लाग्छ।’

‘सुनाखरी’ वृद्ध बुवाआमाप्रतिको सम्मान

बाँसैको चोयाले चित्र बुन्ने कुमारध्वज मायाजाल बुन्न पनि उत्तिकै सिपालु रहेछन्। फोटोले ल्याएको फाटो टाल्न उनी कुशमायाको माइतमै पुग्छन्।

बासी आँखा बोकेर

छातीमा न्यानो छोपेर

एकमुठी सास रोकेर

आए, ज्यानमाया आए

यही गीत गुन्गुनाउँदै कुमारध्वज ससुराली पुग्दा पानी पर्न थालेको थियो। छातीमा न्यानो छोपेर श्रीमान पुगेपछि कुशमाया माइतमा अडिन सकिनन्। माइत पुगेकी श्रीमती फर्काएर पहिलेकै ठाउँमा फोटो राखिदिन्छन् उनी। अनि फर्किन्छिन् पुरानै सम्बन्ध जोड्नतिर।

नवीनलाई सम्बन्धहरु एकदमै प्रिय लाग्छन्। उनका अनुसार सम्बन्धले नै मानिसलाई बलियो बनाउँछ। त्यसैले नवीन सम्बन्धमा केन्द्रित रहेर नै कथाहरु बुन्छन्।

‘सुनाखरी’लाई युट्युबमा धेरै भ्युज त मिलेको छैन। तर, नवीन भने यस यस प्रोजेक्टलाई पैसासँग तुलना गर्न चाहदैनन्। ‘यो मैले आफ्नो मन सन्तुष्टिको लागि गरेको काम हो। म बुढो हुँदा पनि यो काम देख्दा मलाई गर्व महसुस हुनेछ। ७० वर्षको उमेरसम्म पनि सँगै हुनुको मजा धेरैलाई थाहा हुँदैन। यो गीत हेर्दा दर्शकको मन पनि शितल हुनेछ। यो गीत शहरमा बस्ने मानिसहरुको लागि पनि आँखा रसाउने माध्यम बन्नेछ।’

फिल्म तथा गीतमा वुद्ध जोडीको कथालाई बढी प्राथमिकता नदिएको आरोप छ। ‘त्यसरी मज्जाले बसेका बुढाबुढीका कथालाई हामीले आफ्नो कथा र फिल्ममा स्थान नै दिएका छैनौँ। खाली आर्शिवाद लिँदा, दर्शैँमा टीका लगाएको र मरेर गएको मात्रै देखाइन्छ,' नवीनले यसरी नै यो गीतिकथाको बिट मारे, 'उहाँहरुलाई किनारा लगाइएको छ। जो मलाई मन पर्दैन। जसकारण मैले यो प्रोजेक्ट गरेको हुँ। वृद्ध जोडीलाई यो गीत आर्टमाण्डुतर्फबाट सम्मान हो।’

सुनाखरीका थुप्रै प्रजातिका हुन्छन्। नेपालमै पाँच सयभन्दा बढी प्रजातिका सुनाखरी रहेको अनुसन्धानकर्ताहरुकै दाबी छ। यी सुनाखरी बहुमुल्यका हुन्छन्। विभिन्न स्वादका लागि यसको काण्ड र गानोको चर्को मुल्यमा बिक्री हुनेगर्छ र नेपालमा यसको अवैध व्यापार बढ्दो छ। यसले केही सुनाखरी अति संकटापन्न सूचीमा परिसकेको छ। तर नेपाल सरकारले चिन्दैन सुनाखरी। यसरी नै कसैको नजरमा नपरेको वृद्धहरुको कथा बुन्न पाएकोमा दंग छन् नवीन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell