PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

माईराम पोखरीको अतिक्रमण खाली गराउन वीरगंज महानगरले चलायो डोजर



राधेश्याम पटेल

माईराम पोखरीको अतिक्रमण खाली गराउन वीरगंज महानगरले चलायो डोजर

वीरगंज : वीरगंज महानगरपालिकाले चिल्ड्रेन पार्क (पुरानो माईराम पोखरी)को अतिक्रमित जग्गा खाली गराउन अभियान सुरू गरेको छ। नगरप्रमुखमा राजेशमान सिंह निर्वाचित भएपछि चिल्ड्रेन पार्कको अतिक्रमित जग्गा खाली गराउन दोस्रोपटक अभियान सुरू भएको हो। हिजोबाट सुरु भएको अभियान आज पनि जारी छ।

कात्तिक २१ गते महानगरले सो अभियान प्रारम्भ गरेको थियो। तर, श्रीराम अस्पतालले गरेको अतिक्रमणमध्ये केही भाग मात्रै अतिक्रमणमुक्त गराएर अभियान रोकिएको थियो।

चार बिघा जग्गामा रहेको माईराम पोखरीमा एसियन डेभलपमेन्ट बैंक (एडिबी)को सहयोगमा निर्मित चिल्ड्रेन पार्क निर्माण हुँदासम्म १९ कट्ठामा सीमित भएको थियो। महानगरले पछिल्लो समयमा अतिक्रमित जग्गा खाली गराउन पटक–पटक सूचना जारी गर्दै आएको थियो। महानगरले दोस्रो चरणमा डोजर/एक्साभेटर लगाएर पार्कको पूर्वतर्फको अतिक्रमित संरचना हटाउन सुरू गरेको छ। चिल्ड्रेन पार्क वरिपरि माईराम पोखरीको जग्गा अतिक्रमण गर्ने मानिसको सङ्ख्या ५७ छन्। ५७ जनासँग तीन धुरदेखि बढीमा १० धुरसम्मको निस्सा प्रमाण छ। उनीहरूले महानगरमा बिटौरीबापत त्यति जग्गाको कर तिर्दै आएका थिए।

२०४९ सालताका नयाँ नापी आउँदा बिटौरीको सोही जग्गाको आधारमा उनीहरूले अतिक्रमित जग्गालाई पनि वैधानिकता दिएका थिए। २०२१ सालको नापनक्शामा माईराम पोखरी चार बिघामा थियो र पोखरीवरिपरि डिलमा रहेकाहरूले अहिले अतिक्रमण गरेर पोखरीलाई १९ कट्ठामा खुम्चाएका थिए।

माईराम पोखरीको जग्गा तत्कालीन नगर पञ्चायतदेखि अहिलेसम्म कैयौंपटक खाली गराउने प्रयास भइसकेको छ तर सफलता भने हात लागेको थिएन। पटक–पटक तोडफोड गर्ने, आतङ्क मचाउने र जग्गाधनीहरूसँग रकम असुली गर्ने आरोप पनि लाग्दै आएको छ। यसपटक पनि कात्तिकमा अभियान सुरु भएको र एक दिनमै रोकिएपछि यो आरोप लागेको थियो।

आज एक्साभेटर चलेपछि घरधनीले घरभित्रका सामान आफै हटाउन थालेका छन्। महानगर आएपछि धरधनीहरु विवादमा पनि उत्रेका छन्। उनीहरूले निस्सा र प्रमाणहरू देखाएर तोडफोड रोक्न आग्रह गरेका छन्। महानगरले पोखरी खाली गराउने अभियानलाई सफल बनाउन सक्छ कि सक्दैन भनेर पनि वीरगंजमा प्रश्न उठेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell