काठमाडौं : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। उक्त मौसमी प्रणालीका कारण हाल कोशी प्रदेशका साथै देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बिहीवार कोशी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले बताएको छ। कोशी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन /चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।
त्यस्तै, बिहीवार राती कोशी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।