कम्तिमा ४३ जनाको ज्यान लिने गरी ग्रीसमा भएको रेल दुर्घटना ‘दुःखद मानवीय त्रुटि’का कारणले भएको प्रधानमन्त्रीले बताएका छन्। प्रधानमन्त्री कीरियाकोस मित्सोटाकिसले मंगलवार राति यात्रुवाहक र मालवाहक रेल ठोक्किएको घटनास्थलको भ्रमण गरेपछि यस्तो बताएका हुन्।
स्थानीय स्टेशनमास्टरलाई हत्याको आरोप पक्राउ गरिएको छ। ग्रीसका यातायात मन्त्रीले राजीनामा दिएका छन्। उद्धार टोलीले खोजी तथा उद्धार कार्यलाई जारी राखेका छन्।
दुर्घटना मंगलवार मध्यरातअघि भएको हो। करिब ३५० यात्रु बोकेको यात्रुवाहक रेल लारिसा सहरबाट बाहिरिने क्रममा सुरुङबाट निस्कँदा मालवाहक रेलसँग ठोक्किएको थियो।
दुवै रेल एकै समय एउटै ट्रयाकमा किन चलिरहेका थिए भन्ने अझै स्पष्ट हुन सकेको छैन। ‘सिग्नलिङ’को जिम्मेवारीमा रहेका स्टेशनमास्टरले आफ्नो गल्तीलाई अस्वीकार गर्दै सम्भावित प्राविधिक गडबडीका कारण दुर्घटना भएको बताएका छन्।
घटनास्थलको भ्रमण गरेपछि प्रधानमन्त्री मित्सोटाकिसले ‘दु:खद मानव त्रुटि’का कारण दुर्घटना भएको औंल्याए।
‘न्यायले आफ्नो काम गर्नेछ’, उनले टेलिभिजन सम्बोधनमा भने, ‘दोषीलाई जवाफदेही बनाइनेछ, राज्य जनताको पक्षमा छ।’
आफ्नो राजीनामाको घोषणा गर्दै यातायातमन्त्री कोस्टास करामनलिसले भने, ‘जब यति दुःखद घटना घट्छ, तब केही नभएको जसरी पदमा बसिरहन सम्भव हुँदैन।’
ट्रेड युनियनहरूले कर्मचारीको अभाव, बिग्रिएको संकेत उपकरण र पुराना संरचनाहरूलगायतका कारण दुर्घटना भएको बताएका छन्।