PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

सरकारले संचालन गर्न सकेन चोभार सुक्खा बन्दरगाह, निजी क्षेत्रको जिम्मा लगाउने तयारी



शुक्र गिरी

सरकारले संचालन गर्न सकेन चोभार सुक्खा बन्दरगाह, निजी क्षेत्रको जिम्मा लगाउने तयारी

काठमाडौं : एक वर्षअघि संचालनमा ल्याइएको चोभार सुक्खा बन्दरगाह निजी क्षेत्रलाई जिम्मा लगाइने भएको छ।

केही समय अगाडि सरकारले यो बन्दरगाह संचालन गर्न नसकेको भन्दै आलोचना समेत हुन थालेको थियो। आलोचना हुन थाले लगतै उक्त बन्दरगाह निजी क्षेत्रलाई संचालनको जिम्मा दिने योजना बनाइएको हो।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले यसको पुष्टि गरे। उनका अनुसार यसको प्रक्रिया थालिएको छ। 

‘हामीले निजी क्षेत्रलाई यो बन्दरगाह संचालनको लागि जिम्मा दिने तयारी थालेका छौं,’ उनले भने, ‘अहिले टेण्डर निकाल्नको लागि पेपर वर्क भइरहेको छ।’

निजी क्षेत्रलाई जिम्मा दिने प्रक्रिया अगामी ३ महिनाभित्र सबै काम सम्पन्न हुने गजुरेलले बताए। अहिले टेण्डर आह्‍वानको लागि आवश्यक केही पूर्व तयारीका काम भइरहेको गजुरेल बताउँछन्।

उनका अनुसार टेण्डर प्रक्रियामा सहभागी मध्येबाट एउटा निजी कम्पनीलाई यो बन्दरगाह संचालन गर्न दिइने छ। टेण्डरमा छनोट भएको निजी कम्पनीले चोभार सुक्खा बन्दरगाहको ५ वर्ष सम्मलाई संचालन गर्ने जिम्मा पाउने गजुरेल बताउँछन्।

स्रोतका अनुसार अहिले वीरगंज रेलमार्गको सुक्खा बन्दरगाह संचालन गरिरहेको प्रिष्टिन भ्याली ड्राइपोर्ट प्रालिले यो बन्दरगाह संचालन गर्न ईच्छुक छ।

‘चोभार सुक्खा बन्दरगाहको संचालनका लागि प्रिष्टिन भ्याली ड्राइपोर्ट ईच्छुक छ,’ स्रोतले भन्यो,’वीरगंजको सुक्खा बन्दरगाह संचालन गरिरहेकाले समेत यो बन्दरगाह चलाउन ईच्छुक भएको हुनसक्छ।’ यो भारतीय प्रिष्टिन मेगा लजिस्टिक प्रालि र स्वदेशी भ्याली समूह मिलेर बनेको जेभी कम्पनी हो।

यो कम्पनीले वार्षिक ६२ हजार साना-ठुला कन्टेनर ह्‍याण्डलिङ गर्न सक्छ।

किन निजी क्षेत्रलाई दिइँदै?

गजुरेलले इन्टरमोडल यातायात विकास समिति नियमनकारी निकाय मात्र रहेको बताए। सरकारले नियममा निजी क्षेत्रलाई संचालनको जिम्मा दिने नै लेखेको गजुरेलको भनाइ छ।

‘अहिले हामीले केही समयको लागि मात्र यो बन्दरगाह संचालन गरिरहेका हौं,’ उनले भने, ‘हामी संचालन गर्ने भन्दा पनि नियमनकारी निकाय हौं। त्यसैले हाम्रो अन्तिम विकल्प भनेकै निजी क्षेत्रलाई संचालनको जिम्मा दिने नै हो।’

त्यही हिसाबले आफूहरुले यस्तो कदम चालेको गजुरेलको भनाइ छ। यस्तै अन्य स्थानहरुमा पनि निजी क्षेत्रलाई बन्दरगाहहरु संचालन गर्न दिइएको छ।

निजी क्षेत्र यस्तो संचालन गर्न राज्य भन्दा राम्रो रहेको गजुरेल स्वीकार गर्छन्। ‘निजी क्षेत्र यस्ता बन्दरगाह तथा अन्य जुनसुकै व्यवस्थापकीय क्षेत्र संचालन गर्न राज्यभन्दा राम्रो हुन्छन्,’ उनले भने, ‘त्यही कारणले पनि निजी क्षेत्रलाई जिम्मा दिने नियम छ। निजी क्षेत्रले संचालन गरेका अन्य यस्ता बन्दरगाहहरु राम्रो भएको हामी देख्‍न सक्छौं।’

उनका अनुसार निजी क्षेत्रले छिटो निर्णय लिन सक्ने क्षमताका हुन्छन्। उनीहरुले व्यापार बढाउनेतर्फ जोड दिने गर्छन्। ‘त्यसले गर्दा पनि निजी क्षेत्रलाई यस्ता बन्दरगाह संचालन गर्न बढी जिम्मा दिइन्छ,’ उनले भने।

संचालनमा आएको दिनदेखि हालसम्म यस बन्दरगाहा १०९ वटा कन्टेनर मात्र भित्रिएका छन्। यसमा पनि ४ वटा निर्यात गर्ने सामानको कन्टेनरहरु भित्रिएको हो। यसले उक्त बन्दरगाह संचालन खर्च समेत उठ्न कठिन अवस्था छ।

कुन बन्दरगाह कुन निजी क्षेत्रले संचालन गर्छन्?

हाल नेपालमा सात वटा सुक्खा बन्दरगाह र आईसीपी संचालनमा छन्। जसमध्ये वीरगंज रेलमार्गको सुक्खा बन्दरगाह प्रिष्टिन भ्याली ड्राइपोर्ट प्रालिले संचालन गर्दै आइरहेको छ।

यसैगरी विराटनगर आईसीपीको ट्रान्स नेपाल फ्रेट सर्भिसेज प्रालिले संचालन गरेको छ। चोभार सुक्खा बन्दरगाह नेपाल इन्टरमोडल विकास समितिको आन्तरिक व्यवस्थापनमा संचालन भइरहेको छ। यसलाई पनि निजी क्षेत्रलाई संचालनको जिम्मा दिन लागिएको हो।

वीरगंज आईसीपी संचालनको जिम्मा समितिको आन्तरिक व्यवस्थापनमा संचालन भइरहेको छ। यस्तै तातोपानीको ट्रान्स सिल्क टर्मिनल प्रालि, विराटनगर सुक्खा बन्दरगाह विराटनगर एकीकृत जाँच चौकी संचालनमा आएपछि बन्द भएको छ।

भैरहवाको अन्नपूर्ण टर्मिनल्स प्रालि र काँकडभिट्टाको ट्रान्स नेपाल फ्रेट सर्भिसेज प्रालिले संचालन गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell