PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

क्रिकेटमा नेपालका दुई खेल : प्रतिस्पर्धी एक, लक्ष्य विश्वकप



पहिलोपोस्ट

क्रिकेटमा नेपालका दुई खेल : प्रतिस्पर्धी एक, लक्ष्य विश्वकप
Photo: CAN

काठमाडौं : नेपाली क्रिकेट टोलीले आज दुई महत्वपूर्ण खेल खेल्दैछन्। यू १९ टोली र सिनियर राष्ट्रिय टोलीले आज यूएईमा खेल्दैछन्। र, दुवै टोलीको प्रतिस्पर्धी हो घरेलु टोली यूएई।

यू १९ टोलीले आज अजमानमा हुने खेलमा बिहान पौने ११ बजे आमनेसामने हुनेछन्। दुवै टोलीका लागि यो खेल फाइनल सरह हुनेछ। ६ टोली सम्मिलित यू १९ पुरुष विश्वकप एसिया छनोटमा दुवै टोलीले समान ४ खेल खेलेर अपराजित रहँदै ८ अंक जोडेका छन्। रनरेटका आधारमा यूएई नेपालभन्दा अगाडि छ। विजेता टोलीले श्रीलंकामा हुने यू १९ विश्वकपमा स्थान बनाउने पक्का हुनेछ।

यू १९ खेलमा नेपालले पहिलो खेलमा सिंगापुरलाई र दोस्रो खेलमा कुवेतलाई हराएको थियो। नेपालले सिंगापुरमाथि ९६ र कुवेतमाथि २४३ रनको फराकिलो जित निकालेको थियो। त्यस्तै, तेस्रो खेलमा हङकङलाई ९ विकेटले र चौथो खेलमा मलेसियालाई १० विकेटले हराएको थियो।

त्यस्तै, आजै हुने अर्को खेलमा नेपाली सिनियर टोलीले यृएईकै सामना गर्नेछ। क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज यूएईसँग भिड्दै छ। खेल यूएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बिहान ११:४५ बजे सुरु हुनेछ।

लगातार जित निकालिरहेको नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रिदैँछ भने यूएई आफ्नो हारको श्रृंखला तोड्ने दाउमा छ। नेपालले पछिल्ला पाँच मध्ये पाँचै खेलमा जित निकालेको छ भने यूएईले एक खेल मात्र जितेको छ।

नेपाल र यूएईबिचका पछिल्ला पाँच खेलमध्ये दुईमा नेपालले र तीन खेलमा यूएईले नतिजा आफ्नो पक्षमा निकालेका छन्।

आजको खेलमा जित निकाल्न सके नेपाल यूएईलाई पछिपार्दै पाँचौँ स्थानमा उक्लने छ। लगातार पाँच खेलमा अपराजित रहेको नेपाल लयलाई निरन्तरता दिने लक्ष्यमा हुने छ भने यूएई घरेलु मैदानको फाइदा उठाउँदै जित निकाल्ने पक्षमा हुनेछ।

नेपाल र यूएई दुवै लिग २ को शीर्ष तीनमा पर्दै विश्वकप छनोटमा स्थान बनाउने होडमा कायम छन्। यो होडमा नामिबिया पनि छ। तर, नामिबियाले ३६ वटै खेल खेलिसकेकाले नेपाल, यूएई र पीएनजीबीचको खेलहरुको नतिजा आफू अनुकूल आउने प्रतिक्षामा हुनेछ।

अंकतालिकाको छैटौँ स्थानमा रहेको नेपालले २९ खेलबाट २८ अंक जोड्दा समान खेलमा २९ अंक जोड्दै यूएई पाँचौँ स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell