काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उपराष्ट्रपतिको निर्वाचनपछि मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्। बिहीवार सिराहाको लहान नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले यस्तो राष्ट्रपतिको निर्वाचन र उपराष्ट्रपतिको निर्वाचनपछि मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन्।
'२५ गते राष्ट्रपतिको निर्वाचन हुन्छ। चैत ३ गते उपराष्ट्रपतिको हुन्छ। त्यसपछि यो सरकारको नयाँ किसिमले यो ८ दलको गठबन्धन छ। यही गठबन्धनको समझदारीअनुसार क्याबिनेट फेरबदल गरेर देशको चुनौति सामना गर्न हामी अघि बढ्छौं,' नेता सिंहले भने। राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ८ दलबाट उम्मेदवार छन्। त्यसैगरी एमालेबाट उपाध्यक्ष सुवास नेम्वाङ राष्ट्रपतिको दौडमा छन्।
नेता सिंहले हरेक चुनौतिहरुको सामना नेपाली कांग्रेसको नेतृत्वमा पुरा भएको बताए। उनले माओवादीलाई शान्तिप्रक्रियामा ल्याउनेदेखि नयाँ संविधान जारी र निर्वाचनहरु कांग्रेसको नेतृत्वमा भएको बताए।
यसअघि नेता सिंहले बिथोलिएको राजनीतिक वातावरण सही ट्र्याकमा आएको बताएका थिए। सिराहाको कार्यक्रममा सहभागी हुन जाने क्रममा धनुषा पार्टी कार्यालयमा सञ्चारकर्मीसँग सिंहले उक्त भनाई राखेका हुन्।
निर्वाचनमा जाने बेला जुन गठबन्धन बनेको थियो त्यही गठबन्धनलाई म्यान्डेट पाए पनि केही समय असहजतातर्फ राजनीतिअघि बढे पनि अहिले जनताको जनमत अनुरुपको राजनीतिक परिस्थिति निर्माण भएको बताए। अब ८ दलीय गठबन्धनको समझदारी अनुरुप मुलुक अगाडि बढ्नेसमेत सिंहको भनाई थियो।