PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

माधव नेपाललाई पार्टी कार्यालयमा भेटेर सुवास नेम्वाङले मागे भोट, पार्टी एकताबारे पनि छलफल



प्रकाश भण्डारी

माधव नेपाललाई पार्टी कार्यालयमा भेटेर सुवास नेम्वाङले मागे भोट, पार्टी एकताबारे पनि छलफल

काठमाडौं : नेकपा (एमाले)का नेताहरुले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेटेका छन्। एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा नेताहरुबचि भेट वार्ता भएको हो।

एमालेका उपाध्यक्ष तथा राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङ, उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्विसुब्बा गुरुङले नेपालसँग भेटवार्ता गरेको एकीकृत समाजवादीका एक पदाधिकारीले जानकारी दिए।

'भेटवार्ता भएको छ। राष्ट्रपतिकै चुनावबारे त हो नि। अहिले अरु विषय नै छैनन,' उनले भने।

भेटवार्तामा अध्यक्ष नेपाल सहित महासचिव डा बेदुराम भुसाल, उपाध्यक्ष प्रमेश हमाल र नेता रामचन्द्र झा सहभागी थिए। 

राष्ट्रपतिको निर्वाचनमा आफूलाई सघाउन औपचारिक प्रस्ताव लिएर नेम्वाङ लगायतका नेताहरु नेपाललाई भेट्न पुगेका हुन्। राष्ट्रपतिको निर्वाचनमा सघाउन अनुरोध गर्नका साथै पार्टी एकताका विषयमा समेत उनीहरुबिच छलफल भएको छ। पछिल्लो समय एमाले र एकीकृत समाजवादीका नेताहरुबिच पार्टी एकताका विषयमा समेत संवाद भइरहेको छ। यसअघि एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्र लेखेर नेपाललाई नेम्वाङको पक्षमा मतदान गर्न आग्रह गरेका थिए। 

८ दलीय गठबन्धन बन्नु अघि फागुन ७ मा ओलीले नेपाललाई भेटेरै राष्ट्रपतिका लागि प्रस्ताव गरेका थिए। पार्टी एकताको शर्त सहित राष्ट्रपतिका लागि प्रस्ताव गरेपछि नेपाल राष्ट्रपतिको उम्मेदवारबाट पछि हटेका हुन्। एकीकृत समाजवादीका नेताले पार्टी एकताका लागि समेत सकारात्मक संवाद अघि बढिरहेको बताएका छन्। तर त्यो तत्काल सम्भव नभएको एकीकृत समाजवादीका नेताको भनाइ छ।

पार्टी विभाजनपछि लामो समयमसम्म ओलीले एकीकृत समाजवादीलाई अवैधानिक पार्टी भन्दै टिप्पणी गर्ने गरेको भए पनि केहि समय यता भने ओली नेपालप्रति नरम भएका छन्। 

'गठबन्धन बाहिर भोट हाल्ने कुरा हुँदैन'

एकीकृत समाजवादीको फागुन १७ गतेको सचिवालयको बैठकले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको थियो। उपमहासचिव डा गंगालाल तुलाधरले उक्त निर्णय अनुसार नै मतादान हुने जानकारी दिए।

तर, एमालेले आफ्नो पार्टीसँग पनि मत माग्नु सकारात्मक भएको बताए।

'लोकतन्त्रमा एमालेले हामीसँग र कांग्रेसले एमालेसँग मत माग्नु निकै राम्रो विषय हो। तर हामीले निर्णय गरिसकेकाले दाँया बाँया गर्दैनौं,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell