PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

एकै महिना किन घटे ७ लाखसम्म टेलिकम कम्पनीको ग्राहक?



पहिलोपोस्ट

एकै महिना किन घटे ७ लाखसम्म टेलिकम कम्पनीको ग्राहक?

काठमाडौं : पछिल्लो केही महिनायता दूरसंचार कम्पनीका प्रयोगकर्ता लाखौं संख्यामा घटिरहेको तथ्य भेटिएको छ। देशमा संचालनमा रहेका दुई ठूला टेलिकम अपरेटरहरु नेपाल टेलिकम र एनसेल दुवैको ग्राहक संख्या ह्वात्तै घटेको देखिएको हो।

एकै महिनामा ६ लाख ७४ हजार भन्दा बढी जीएसएम (ग्लोबल सिस्टम फर मोबाइल कम्युनिकेसन) प्रयोगकर्ता घटेको तथ्यांक नेपाल दूरसंचार प्राधिकरणको छ। गत वैशाखदेखि मंसिरसम्मको तथ्यांक केलाउँदा साउनमा सरकारी स्वामित्वको टेलिकमको जीएसएम ग्राहक संख्या एकै महिना ६ लाख ७४ हजार २८४ ले घटेको थियो। यो नै सर्वाधिक गिरावट हो।

असारमा २ करोड १३ लाख ७७ हजार १०४ जीएसएम ग्राहक संख्या रहेको टेलिकमको साउनमा घटेर २ करोड ७ लाख २ हजार ८२० पुगेको थियो। गएको जेठमा ३ लाख ७० हजार, भदौमा ३ लाख ८२ हजार र मंसिरमा ३ लाख ६८ हजारले टेलिकमको जीएसएम ग्राहक घटेका छन्। प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार मंसिरमा टेलिकमको जीएसएम ग्राहक संख्या २ करोड १ लाख ८६ हजार १६० मा आइपुगेको छ।

त्यसैगरि, निजी क्षेत्रको दूरसंचार अपरेटर एनसेलको जीएसएम ग्राहक संख्या एकै महिना ३ लाख ८० हजारभन्दा बढीले घटेको छ। गएको असोजमा १ करोड ७३ लाख जीएसएम ग्राहक संख्या रहेको एनसेलसँग कात्तिकमा घटेर १ करोड ३५ लाखमा झरेको प्राधिकरणको तथ्यांक छ।

गत जेठमा १४ हजार ४१० र मंसिरमा ९३ हजार १५२ ले एनसेलका जीएसएम ग्राहक संख्या घटेका छन्। प्राधिकरणका अनुसार एनसेलको जीएसएम ग्राहक संख्या मंसिरमा १ करोड ३४ लाख ७ हजार ५३८ पुगेको छ।

आखिर एक महिनाकै अवधिमा किन यत्रो संख्यामा जीएसएम ग्राहक घटे त? नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारी सिमकार्ड रिसाइकल गरेर बिक्री गर्न नपाउँदा टेलिकम अपरेटरहरुको जीएसएम ग्राहक संख्या कुनै महिना उल्लेख्यरुपमा घटेको बताउँछन्।

‘विभिन्न कालखण्डका सबै अपरेटरहरुको ग्राहक संख्या स्वाट्टै घटेको देखिन्छ। नम्बर रिसाइकल गर्दा ग्राहक संख्या बढेको हुन्छ। अब सर्वोच्च अदालतले पनि कुनै पनि नम्बर रिसाइकल गरेर अर्को ग्राहकलाई बाँड्न रोक लगाएको छ। घट्नुको कारण हामीले नम्बर रिसाइकल गरेर नयाँ ग्राहकलाई बेच्न रोकेकाले हो। अरु कुनै कारणले होइन,’ अधिकारीले भने।

नेपाल टेलिकमले १ वर्षभन्दा बढी प्रयोग नभएका प्रिपेड नम्बरहरु रिसाइकल गरेर बिक्री गर्थ्यो। जसका कारण टेलिकमले एउटै नम्बर कुनै एक प्रयोगकर्ताले एक वर्षसम्म नचलाएमा फेरि अर्को नयाँ ग्राहकलाई बिक्री गर्थ्यो।

प्राधिकरणले ६ महिनाभन्दा बढी समय निष्क्रिय बसेका सिम रिसाइकल गर्ने नीति कार्यान्वयनमा ल्याएको थियो। तर, अदालतले त्यसमा रोक लगाउन आदेश दिएको छ।

सेवा गुणस्तरीय नभएकाले ग्राहक सिफ्ट भएका त होइनन् भन्ने प्रश्नमा अधिकारीले त्यसमा कुनै सत्यता नभएको दाबी गरे। आफूहरु हरेक पल पलको ग्राहक संख्या मूल्यांकन गरिरहने भएकाले जीएसएम ग्राहक संख्यामा देखिएको गिरावटमा मुख्य कारण नै सिमकार्ड रिसाइकल रोकिनु भएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell