PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सैलुङमा 'छ्योर्तेन' बनेपछि साँधबारे सांसद तामाङले किन भने : यो चीन देशको हैन, भारतको पनि हैन?



नेत्र तामाङ

सैलुङमा 'छ्योर्तेन' बनेपछि साँधबारे सांसद तामाङले किन भने : यो चीन देशको हैन, भारतको पनि हैन?
Photo : Shechen Rabjam

सैलुङ : दोलखा र रामेछापको संगमस्थलमा रहेको सैलुङमा करिब ५५ फिट अग्लो छ्योर्तेन(बोधीचैत्य) निर्माण सम्पन्न भएको छ। शैलुङ रिगसुम गोन्पो सेवा समाजको अग्रसरतामा निर्माण सम्पन्न भएको छ्योर्तेनको बुधवार रिन्पोछे सेचेन रब्ज्यामले शुद्धीकरण तथा प्राणप्रतिष्ठा पूजा गरि उद्घाटन गरे।

समुद्री सतहबाट ३ हजार १५४ मिटरको उचाईमा रहेको सैलुङमा छ्योर्तेन बनेसँगै धार्मिक पर्यटन बढ्ने समाजका अध्यक्ष सेरप शेर्पाले बताए। छ्योर्तेन निर्माणका लागि ८ वर्ष लागेको र विभिन्न दाताहरुहरुको सहयोग रहेको उनले बताए।

'२०७२ चैत २० गते छ्योर्तेन निर्माणका लागि भूमि पूजा भएको हो,' अध्यक्ष शेर्पाले भने, 'विभिन्न कारणले ८ वर्षमा बल्ल निर्माण पुरा भयो।'

छ्योर्तेन निर्माणका लागि ३ करोड २९ लाख खर्च लागेको समाजका महासचिव कृष्णकुमार थोकरले बताए। सैलुङमा थुप्रै थुम्काहरु रहेका छन्। ती थुम्कामा चैत्य तथा म्हानेहरु रहेका छन्। ती म्हानेहरुको पुरानै शैलीमा पुनर्निर्माण गर्ने, गौतम बुद्धको जन्मजयन्तीको अवसर पारेर विशेष कार्यक्रम गर्ने तयारीसमेत समाजले गरेको महासचिव थोकरले बताए।

सांसद तामाङले भने : यो चीन देशको हैन

उद्घाटन कार्यक्रममा कांग्रेस नेता एवं सांसद पूर्णबहादुर तामाङले पवित्र धार्मिक स्थललाई विवादको थलो बनाउन नहुने बताए। सैलुङ कुनै सुनखानी र पेट्रोल खानी नभएको उल्लेख गर्दै तामाङले दुबै जिल्लावासी मिल्नुपर्ने धारणा राखेका हुन्।


सांसद पूर्णबहादुर तामाङ। फोटो : बुद्ध योञ्जन


'कहिले रामेछापको कहिले दोलखाको भन्ने गरिन्छ। यो चीन देशको हैन, भारतको सीमा हैन, सुनखानी हैन। पेट्रोल खानी हैन। तामाखानी पनि हैन। यो धार्मिक क्षेत्र हो,' सांसद तामाङले भने, 'एतिहासिक बनिरहेको छ अहिले। अझ राम्रो बनाउन सबै लागौं, सबै मिलौं, दुबै जिल्लाको मिलौं।'

यस क्षेत्रमा खानेपानीदेखि विभिन्न समस्या रहेकोले यी समस्या समाधान गर्न आफू तयार रहेको तामाङले बताए।

'खानेपानी ल्याउन डिपिआर ल्याउनुस्। मैले के गर्नुपर्छ म गर्न तयार छु। हामी विकास ल्याउँछौं,' तामाङले भने।

रामेछापको दोरम्बा सैलुङ गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तानले यो क्षेत्र विकासका लागि आफ्नो गाउँपालिको पुरा साथ रहने बताए। रामेछापवासीले अहिले निर्माण भएको छ्योर्तेन आफ्नो जिल्लामा पर्ने दाबी गर्दै आएका छन्। यसैगरि दोलखावासीले उक्त छ्योर्तेन सीमामा पर्ने भएकोले रामेछाप एक्लैले दाबी गर्न नमिल्ने बताउँदै आएको छ। यसो त उक्त छ्योर्तेन निर्माणका लागि रामेछापको दोरम्बा सैलुङ गाउँपालिका, दोलखाको सैलुङ गाउँपालिका र दोलखाकै मेलुङ गाउँपालिकको आर्थिक सहयोग रहेको छ। यसको विकासका लागि तीनैवटा गाउँपालिका एक हुने मोक्तानले बताए।

'तीनवटै गाउँपालिका मिलेर हामी लाग्नेछौ। धार्मिक विकासमा लाग्नेछौं,' मोक्तानले भने।

सैलुङ गाउँपालिकाका अध्यक्ष रिमालबाबु श्रेष्ठले सैलुङ अवसरको भूमि भएको बताए। 'यो धार्मिक र पर्यटकीय क्षेत्र हो। यो अवसरको भूमि हो। गाउँपालिकाले गर्ने लगानीमा म कुनै कमी हुन दिनेछैन,' श्रेष्ठले भने।

उनले हिन्दु धर्ममा आस्था राख्नेहरुका लागि पनि यस क्षेत्रमा प्रशस्त पवित्र स्थल रहेको उल्लेख गर्दै यसको विकासमा लाग्ने धारणा राखे।

मेलुङ गाउँपालिकाका अध्यक्ष हिराकुमार तामाङले सैलुङ क्षेत्रको विकासका लागि अब प्रदेश सरकार र संघीय सरकारको पनि सहयोग चाहिने बताए। 'स्थानीय तहले धेरै गरिसकेको छ। अब वाग्मती प्रदेश सरकार र संघीय सरकारले पनि हेरोस्,' उनले भने, 'मेलुङ गाउँपालिकाले सक्दो सहयोग गर्दै आएको छ।'

किन विवादित बन्यो छ्योर्तेन स्थल?

सैलुङमा सयभन्दा बढी थुम्का छन्। रुखविरुवाबिनै चिटिक्क देखिने यी थुम्काहरुमा पहिले पहिलेबाटै तामाङ समुदायका बोम्बाहरु जनैपूर्णिमामा पूजा गर्न उक्लन्थे। यसरी पूजा गर्न उक्लने बोम्बाहरु रामेछाप, दोलखाकोमात्र नभएर सिन्धुपाल्चोकसम्ममा हुन्थे। यो प्रक्रिया अहिले पनि जारी छ। केही थुम्का नजिकैको तामाङहरुको समाधिस्थल पनि हो। ती समाधिस्थलहरुमा म्हाने तथा चैत्यहरु बनेका छन्। सिन्धुपाल्चोकका तामाङहरु मंसिरमा यहाँ आफ्नो दिवंगत पितापूर्खाको पूजा गर्न पुग्छन्। यसरी नै तामाङहरुको पवित्र भूमिका रुपमा रहेको सैलुङ पर्यटनमा पनि 'एक्स्प्लोर्ड' भयो। मौसम खुल्दा आँखैमा गौरीशंकर हिमाल ठोक्किने सैलुङको चर्चा दिनानुदिन बढ्न थाल्यो। गौरीशंकरमात्र हैन यहाँबाट मौसम खुल्दा लाङ्टाङ, गणेश, मनास्लु, अन्नपूर्ण, धौलागिरि 'हिमालय रेन्ज' गजबले देखिन्छ।

सैलुङलाई पहिल्यैबाट दोलखा र रामेछापको साँध मानिन्थ्यो। जब सैलुङको चर्चा बढ्न थाल्यो। रामेछापको दोरम्बा गाउँपालिकालेसमेत आफ्नो नाममा सैलुङ जोड्यो। देश संघीयतामा गएपछि स्थानीय तहको पुनर्संरचना भएअनुसार पहिले दोरम्बामात्र भए पनि चार वर्षपछि यो पालिकाले नाम फेरेर दोरम्बा सैलुङ गाउँपालिका नामकरण गर्‍यो २०७७ चैतमा।

यसअघि दुई जिल्लाको साँधमै १३ मिटर अग्लो भ्युटावर निर्माण भइसकेको थियो भने रामेछापको खोलाखर्कबाट सैलुङ पुग्न व्यवस्थित सिढीसमेत निर्माण भइसकेको छ। खोलाखर्क सैलुङको रामेछापतिरको 'बेसक्याम्प' हो। काठमाडौं, बनेपा, नेपालथोक हुँदै यहाँ पुग्न सकिन्छ। यता दोलखातिरको 'बेसक्याम्प' हो कालापानी। यता धमाधम पूर्वाधार बन्ने क्रम छ। बुद्धको पाइला, भीमसेनको तरवारदेखि, महादेवस्थान, धर्मद्वारसम्म रहेकोले अहिले यो ठाउँमा पर्यटकको चहलपहल बढ्दो छ।

पर्यटकीय क्षेत्रको आकर्षण थलोका रुपमा पहिचान बनेपछि दुबैतिरका जिल्लावासी सैलुङ आफ्नोमात्र भएको दाबी गर्न थालेको स्थानीयहरु बताउँछन्। त्यसैलै राज्यको तर्फबाट विवाद छिनोफानो नभए कुनै बेला यहाँको विवाद चर्कन सक्ने उनीहरुको दाबी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell