PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

८ दलका सांसदलाई प्रचण्डको ओलीलक्षित ब्रिफिङ : विश्वासको मत लिने दिनमै प्रतिगमनको संकेत पाएँ, लगत्तै गठबन्धन 'चेन्ज'



प्रकाश भण्डारी

८ दलका सांसदलाई प्रचण्डको ओलीलक्षित ब्रिफिङ : विश्वासको मत लिने दिनमै प्रतिगमनको संकेत पाएँ, लगत्तै गठबन्धन 'चेन्ज'

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले विश्वासको मत लिएकै दिन प्रतिगमनको संकेत पाएपछि नयाँ गठबन्धन बनेको बताएका छन्। राष्ट्रपतिमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई जिताउन सत्तारुढ ८ दलले तीनकुनेमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा प्रचण्डले उक्त भनाई राखेका हुन्।

एमालेसँग मिलेर सरकार बनाउँदा आफूले संविधान रक्षाको लागि बनाएको दाबी गर्दै विश्वासको मत लिने दिन भने प्रतिगमनको संकेत पाएको प्रचण्डको भनाई थियो।

'पहिले हामीले सरकारका लागि गठबन्धन बनाएका थिएनौं। संविधान रक्षा र प्रतिगमन परास्त गर्न गठबन्धन बनाएका थियौं,' माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले भने, 'फेरि त्यस्तै स्थिति मैले विश्वासको मत लिएकै दिन देखा पर्‍यो। त्यसकारण विचार, निष्ठा र सिद्धान्तको आधारमा यो गठबन्धन बनेको हो।'

तत्कालीन नेकपा रहँदा अध्यक्ष केपी शर्मा ओलीले दुई पटक प्रतिनिधि सभा विघटन गरेका थिए। यही घटनालाई लक्षित गर्दै प्रचण्डले कांग्रेससँगैको गठबन्धनमा आफू आएको बताएका हुन्।

एमालेकै समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले पुस २६ गते विश्वासको मत लिएका थिए। सरकारमा नरहे पनि सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले पनि विश्वासको मत दिएपछि प्रचण्डले २६८ मत पाएका थिए। त्यतिबेला एमाले अध्यक्ष ओलीले कांग्रेसलाई खोलामा ढोक्सा नफाल्न र फाले पनि ढोक्सा खाली हुने चेतावनी दिएका थिए।

राष्ट्रपति पदलाई लक्षित गरि दिएको उक्त चेतावनी अहिले माओवादीले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई साथ दिएसँग ओलीको चेतावनी विफल भएको छ। राष्ट्रपतिको निर्वाचनसम्म पर्खने भनेको एमालेले मंगलवार नै सरकार छाडिसकेको छ। एमालेसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि सरकार छाडिसकेको छ।

अब बनेको ८ दलीय गठबन्धन लामो समय टिक्नेसमेत प्रचण्डले बताएका छन्।

'तत्काललाई मात्र एक ठाउँमा आएका हैनौ,' प्रचण्डले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell