काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई ११ दलको समर्थन रहने बताएका छन्। राष्ट्रपतिमा पौडेललाई जिताउन सत्तारुढ ८ दलका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई अभिमुखीकरण दिन आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त भनाई राखेको महतले बताए।
'८ दलमात्र हैन १० दल भइसकेको छ। ११ दलको समर्थन हुन्छ। केन्द्रीयमात्र नभई प्रदेशको जोड्दा भनेर प्रधानमन्त्री प्रचण्डले भन्नुभएको छ,' प्रवक्ता महतले भने, 'अविचलित रुपमा संविधान रक्षाको लागि लाग्नुभएको व्यक्तित्व हुनुहुन्छ रामचन्द्र पौडेल।'
पौडेल राष्ट्रपति हुनेमा कुनै दुई मत नै नरहेको उल्लेख गर्दै एमालेको पनि समर्थन लिने प्रयास भइरहेको दाबी गरे।
'एमालेको पनि समर्थन भए राम्रो। प्रधानमन्त्रीले ओलीजीलाई प्रस्ताव गर्नुभएको छ भन्ने कुरा छ,' उनले भने।
राष्ट्रपतिको लागि २५ गते निर्वाचन हुँदैछ। एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई आफ्नो उम्मेदवार बनाएको छ।