काठमाडौं : काठमाडौंस्थित शिल्पी नाट्यसमूहका निर्देशक युवराज घिमिरेको नाट्यरचना ‘विमोक्ष’को मञ्चन सुरु भएको छ।
नाट्यसमूहकै एक सदस्य प्रवीण खतिवडाको परिकल्पना र निर्देशनमा ‘विमोक्ष’को मञ्चन बत्तीसपुतलीको नाट्यघरमा सुरु भएको हो।
नाटककार घिमिरेले यही फागुन १७ बुधवारदेखि सुरु भएको मञ्चन एक महिनासम्म चल्ने जानकारी दिए। कुल १ घण्टा १५ मिनटमा सकिने नाटकमा घिमिरेसहित ४ कलाकार छन्। अन्य कलाकारमा सगुना शाह, पवित्रा खड्का र सागर खाती कामी छन्।
बत्तीसपुतलीमा ‘विमोक्ष’ नाटकको पुस्तकाकार कृतिको पनि लोकार्पण गरिएको छ। वरिष्ठ साहित्यकार अभि सुवेदी र डेनमार्कको नेसनल थिएटरमा अभिनयका शिक्षक जोनाथन पउल कुकले पुस्तकको लोकार्पण गरेका हुन्।
‘विमोक्ष’ नाटकमा जातीय विभेद र प्रेमको बयान छ’, कलाकार घिमिरेले भने, ‘जातीय विभेदका कारणले एक दलितले भोग्नुपरेको पीडालाई अभिव्यक्त गर्ने प्रयास गरेको छु। साथै साँचो प्रेम के हो, यसको सम्बन्ध कस्तो हुनुपर्छ अनि प्रेम र यौनको कस्तो सम्बन्ध रहन्छ भन्ने पाटो पनि नाटकमा उद्घाटित गर्न खोजिएको छ ।’
नाटककार युवराजले यस नाटकले सामाजिक यथास्थितिवादी मान्यता, विचार र अभ्यासलाई चुनौती दिने विश्वास प्रकट गरे। साथै यस कृतिमा आफूले फरक खालको नाट्यशिल्पको प्रयोग गरेको स्पष्ट पारे।
उनको भनाइ थियो, ‘भौतिक रूपमा उपस्थित नभएको पात्रको पनि नाटकमा निर्णायक र सशक्त भूमिका छ। यो फरक प्रयोग हो।’
घिमिरेले नाटकको विषय मात्र महत्त्वपूर्ण नहुने बरु यसलाई कसरी रोचक, सुन्दर, र सम्प्रेषणीय बनाउन सकिन्छ भनेर लेखक तथा निर्देशकले मेहनत गर्नुपर्ने धारणा व्यक्त गरे।
उनले आफूले लकडाउनका समयमा अङ्ग्रेजी भाषाका धेरै नाटकको अध्ययन गरेको र त्यही बेला फरक शिल्प र प्रयोगमा नाटक लेख्ने हौसला मिलेको कुरा सुनाए।
युवराजको कथन थियो, ‘यही बेला दलितसित प्रेम गरेको भन्दै बाजुरामा ४ युवालाई पुलबाट खसाएर मारियो। यो घटनाका विरूद्धका अभियानमा म सक्रिय भएँ। नागरिक आन्दोलनमा प्रत्यक्ष लागेँ। तर सन्तुष्टि भएन। नाटक लेखिसकेपछि र यसको मञ्चन सुरु भएपछि सन्तोषको सास फेरेको छु। एउटा लेखकले कुनै पनि मन छुने घटनालाई विम्बमा र कृतिमा नउतारी चित्त बुझाउँदो रहेनछ।’
उनले थपे, ‘सामान्यतया दलितका विषयलाई प्रगतिशील भनिने खास राजनीतिक विचारधारासित आबद्ध साहित्यकारले मात्र उठाउने हो भनिन्छ। तर त्यसो होइन। यो आम लेखकको दायित्व र कर्तव्य हो।’
युवराजले समाजमा कतिपय मुद्दा खास समूह र वर्गले मात्र उठाउने हो भन्ने भाष्यको निर्माण भइरहेको भन्दै यसप्रति असहमति व्यक्त गरे। उनले सामाजिक मुद्दा सतहमा ल्याएर सुधारको थालनी गर्ने अधिकार हरेक नागरिकको भएको जिकिर गरे ।
घिमिरेले बाजुराको घटना र लकडाउनमा पढेको नयाँ नाट्यशिल्पको फ्युजनका रूपमा नै ‘विमोक्ष’ नाटक तयार गरिएको जानकारी दिए।