काठमाडौँ: क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज सम्पन्न खेलमा नेपाली क्रिकेट टोली यूएईसँग पराजित भएको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल ६८ रनले पराजित भएको हो।
टस हारेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २०७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल कमजोर ब्याटीङ गर्दै १३९ रनमा समेटियो।
सुरुवाती ब्याटिङमा उत्रिएको यूएईका ओपनर मोहम्मद वसीमलाई पहिलो ओभरमै करण केसीले बोल्ड आउट गरेका थिए। त्यस्तै उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतकीय पारि खेलेका आशिफ खानलाई सन्दीप लामिछानेले केसीको हातबाट क्याच आउट गराए। उनी ३५.३ ओभरमा ७२ रन बनाएर आउट भए। त्यस्तै कप्तान सीपी रिजवानले २२ तथा बृत्य अरबिन्दले १८ रन बनाउँदा आर्यन लार्का २८ रनमा लामिछानेबाट बोल्ड आउट भए। अर्धशतकीय पारि खेलेका मुस्तफा ५२ रनमा अविजित रहे।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले १० ओभरमा मात्र २७ रन दिएर सर्वाधिक ३ विकेट लिए। त्यस्तै आरिफ शेख, कुशल मल्ल र करण केसीले समान १/१ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको नेपालले राम्रो रनरेट बनाएर खेले पनि विकेट जोगाउन सकेन। कप्तान रोहित पौडेल, ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल र आरिफ शेख डकआउट हुँदा आशिफ शेखले १७ र कुशल भुर्तेलले ५ रन बनाए।
नेपालको धर्मराएको पारिलाई सम्हाल्दै उकास्ने प्रयास गरेका थिए कुशल मल्लले। उनले आक्रामक खेल खेल्दै ५३ बलमा ६० रन बनाएर आउट भए। त्यस्तै दीपेन्द्रसिंह ऐरी, गुलसन झा र सोमपाल कामीले पनि दोहोरो अंकको रन जोड्न सकेनन्। अन्तिम विकेटका लागि सन्दीप लामिछानेले आक्रामक ब्याटिङ गर्दै अविजित २६ रन बनाए पनि नेपालको हारलाई टार्न भने सकेनन्।
जितसँगै यूएई ३० खेलबाट ३१ अंक जोडेर तालिकाको पाँचौँ स्थानमा कायम छ। नेपाल भने समान खेलबाट २८ अंक जोड्दै छैटौँ स्थानमा छ। हारसँगै नेपालले पाँचौँ स्थानमा उक्लने अवसर गुमाएको हो। योसँगै शीर्ष तीनमा रहेर विश्वकप छनोट खेल्ने नेपालको सम्भावना पनि कमजोर बन्दै गएको छ। शीर्ष तीनमा पर्नका लागि नेपाल बाँकी छ वटै खेलहरु जित्नु पर्नेछ।
नेपालले शुक्रवार पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्दैछ।