काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति पदका उम्मेदवार पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल लोकतन्त्रका लागि ठूलो त्याग र सङ्घर्ष गरेका नेता भएको उल्लेख गर्दै उनलाई राष्ट्रपतिमा विजयी बनाउन सबैलाई आह्वान गरेका छन्। राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ।
राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन समितिले आठ राजनीतिक दलका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरूका लागि बिहीवार यहाँ आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा देउवाले नेता पौडेलले नेपाली राजनीतिमा पुर्याएको योगदानका बारेमा सबैलाई अवगत रहेको उल्लेख गरे। सभापति देउवाले भने, 'नेता पौडेल राजनीतिमा दुःख गरेका सिनियर साथी हुनुहुन्छ, उहाँ लोकतन्त्रको खिलापमा आफू कहिल्यै पनि जानुहुन्न र अरुलाई पनि जान दिनुहुन्न।'
नेता पौडेल सिद्धान्त र आदर्शको राजनीति गरेका नेता भएको र लोकतन्त्रको संवर्द्धन र राजनीतिक स्थायित्वमा पौडेलको ठूलो योगदान रहेको बताउँदै सभापति देउवाले नेता पौडेललाई राष्ट्रपतिमा अत्यधिक मतका साथ विजयी बनाउन आग्रह गरे।
राष्ट्रपति पदका उम्मेदवार पौडेलले अहिलेको संविधानको व्यवस्थाका लागि आफूले छ दशक बढी समय अथक प्रयास गरेको र संविधानको शब्द र भावसँग आफू पूर्ण परिचित भएको बताउँदै राष्ट्रपतिको जिम्मेवारीमा आएपछि संविधानमा कुनै तलमाथि हुन नदिने प्रण गरे।