PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

पौडेलले जित्ने निश्चित हुँदा पनि हप्ता दिनअघि नै किन काठमाडौंमा सांसद उतार्‍यो गठबन्धनले?



प्रकाश भण्डारी

पौडेलले जित्ने निश्चित हुँदा पनि हप्ता दिनअघि नै किन काठमाडौंमा सांसद उतार्‍यो गठबन्धनले?

काठमाडौं: नयाँ राष्ट्रपति आउन अब हप्ता दिन बाँकी छ। मुख्य राजनीतिक कसरत नै अहिले राष्ट्रपतिका लागि छ। बिहीबारको माहोल पनि राष्ट्रपतिमय भयो। नेकपा (एमाले) का नेताले घरदैलो गरे, राष्ट्रपतिका लागि। ८ दलीय गठबन्धनले प्रदेश र संघका सांसदलाई काठमाडौंमा उतार्‍यो।

एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार रहेका उपाध्यक्ष सुवास नेम्वाङले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाललाई भेटेर भोट मागे। तर एकीकृत समाजवादीको पार्टी कार्यालय आलोक नगरबाट रित्तै फर्किए, आश्वासन समेत पाएनन्।

‘लोकतन्त्रमा एमालेले हामीसँग र कांग्रेसले एमालेसँग मत माग्नु सकारात्मक घटना हो। तर हाम्रो सचिवालयले नै निर्णय गरिसकेकाले दायाँ बायाँ गर्दैनौँ,’ एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले नेम्वाङलाई मत दिन नसकिनेबारे भने।

एकीकृत समाजवादीका नेतालाई भेटेर एमालेका नेताले मत माग्नु नौलो विषय भने हो। डेढ वर्षअघि एमाले नै विभाजन भएर बनेको पार्टीलाई ओलीले मान्यता नै दिएका थिएनन्। एकीकृत समाजवादीका नेतालाई बहिस्कार गर्ने गरेका थिए ओलीले सार्वजनिक कार्यक्रममा। ‘झाडीमा जन्मिएको पार्टी’को टिप्पणी ओलीले वर्ष दिनअघि गरेका थिए। तर राष्ट्रपतिको निर्वाचनअघि एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई नै राष्ट्रपतिका लागि प्रस्ताव गर्नेदेखि पत्र लेखेर तथा भेटेर मत एमालेले आफ्नै पूर्व सहकर्मीसँग मागिरहेको छ।

त्यसो त नेम्वाङले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेतासँग भोट मागेका थिए। राप्रपा र रास्वपा कसलाई मत दिने भन्नेबारे प्रस्ट छैनन्।

नेम्वाङको भन्दा पौडेलको मत माग्ने शैली अलि भिन्न छ। नेताको घरदैलो भन्दा उनले ८ दलकै सांसदलाई काठमाडौंमा जम्मा गराएर मत मागे बिहीबार। राष्ट्रपतिको निर्वाचनमा ८ दलीय गठबन्धनको साथ पौडेललाई छ।

राष्ट्रपतिमा पौडेल निर्वाचित हुने निश्चित छ ८ दलको साथ भएकाले। तैपनि गठबन्धन ८ दलका सांसदसँग विश्वस्त हुन भने सकेको छैन।

सांसदहरूलाई आश्वस्त पार्न निर्वाचनको ७ दिनअघि नै काठमाडौंमा भेला गराएर उनीहरूको मनोविज्ञान बुझ्ने प्रयत्नमा छन् ८ दलका शीर्ष नेता।

८ दलको मतभार ३१ हजार ७९० छ। संघीय संसदमा १५ हजार ३२६ र प्रदेशमा १६ हजार ४६४ गरी ३१ हजार ७९० मतभार पौडेलको पक्षीय हो। गठबन्धनबाहिर रहेका दलको जम्मा मतभार भने २० हजार ८३८ छ भने त्यसमध्ये एमालेको मतभार ५ हजार ३१२ छ।

मतभारका हिसाबले पनि ढुक्क हुने स्थितिमा ‘अभिमुखीकरण’ शीर्षकमा गठबन्धनले सांसदलाई काठमाडौंमा उतार्नुको अर्थ राष्ट्रपतिको निर्वाचन मात्रै हो त?

भेलामा सहभागी नेताहरूका अनुसार गठबन्धनले नयाँ परिस्थितिबारे देशव्यापी सञ्चार गर्नका लागि पनि उक्त भेलालाई हतियार बनाएको छ। अर्कोतिर प्रदेशमा पनि गठबन्धनको माहोल बनाउन निर्वाचनको हप्ता दिनअघि नै काठमाडौंमा सांसद उतारिएको हो। ‘राष्ट्रपतिमा रामचन्द्र पौडेल जित्ने करिब निश्चित छ। ८ दल मात्रै होइन प्रदेशमा मात्रै भएका दलहरूको साथ मिल्ने भएकाले १०/११ दलले मतदान गर्छन्,’ कांग्रेसका प्रवक्ता प्रकाशशरण महत भन्छन्।

त्यसो त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै नयाँ गठबन्धन किन बन्यो र अब कसरी अगाडि बढ्छ भन्नेबारेमा प्रस्ट पार्न खोजेका थिए सांसदहरूलाई। ‘पुस २६ गतेको संसदमा केपीजीले हिजो संसद् विघटन गर्नु ठिक थियो भन्नुभयो। हामी संसद् विघटनको विपक्षमा थियौँ। हामी आफैंले त्यत्रो संघर्ष गरेर संसद् फिर्ता ल्याएका थियौँ। तर, उहाँले ठिक गरेका थियौँ भनेपछि हामी सोच्न बाध्य भयौँ,’ प्रचण्डले सांसदलाई ब्रिफिङ गर्दै भने।

भेला बोलाउनको अर्को कारण हो-गठबन्धनमा रहेको डर हटाउनु। राष्ट्रपतिको निर्वाचनमा सांसद मतदाता भए पनि गोप्य मतदान हुने भएकाले ह्विपको व्यवस्था छैन। गोप्य मतदान भएकाले भोट क्रस हुनसक्ने त्रास गठबन्धनमा छ। एमालेका नेताहरूले माओवादीका र गठबन्धनमा रहेका अरू साना दलका सांसदहरूको मत तान्ने प्रयास गरिरहेको भन्दै शीर्ष नेताले सांसदहरूलाई आश्वस्त पार्न खोजेका हुन्। राष्ट्रपतिका उम्मेदवार पौडेलले आफू संविधान र अहिलेको व्यवस्थाप्रति प्रतिबद्ध रहेको वाचा गरेका थिए। भेलामा सांसदहरूसँग मत माग्दै पौडेलले संविधानप्रति प्रतिबद्ध रहेको वाचा गरेको कांग्रेसका सांसद प्रदीप पौडेलले जानकारी दिए। एकीकृत समाजवादीका अध्यक्ष नेपालले पनि पौडेलबाट प्रस्टता चाहिएकाले भेलाको आयोजना भएको बताए। ‘राष्ट्रपतिका कर्तव्य र जिम्मेवारीका बारेमा सबैभन्दा पहिला प्रस्टताको आवश्यकता छ। राष्ट्रिय हितको प्रवर्द्धन गर्ने कुरा, देशभक्तिको रक्षा गर्ने कुरा, स्वाभिमानको रक्षा गर्ने कुरालाई केन्द्रबिन्दुमा राख्नुपर्‍यो,’ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने।

८ दलीय गठबन्धन बनेको दुई हप्तामा फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ। फागुन १२ गते नयाँ गठबन्धन बनेको हो। एमाले, रास्वपा, राप्रपा लगायतका दलहरू सरकारबाट बाहिरिएका छन् भने अहिले सरकारमा माओवादीका र एक जना जनमतका मात्रै मन्त्री छन्।

प्रचण्ड पुस १० गते कांग्रेस नेतृत्वको गठबन्धनलाई टुटाएर ओलीसँग सहकार्य गर्न पुगेका थिए प्रधानमन्त्रीका लागि। अहिलेको गठबन्धनको आयुबारे पनि प्रश्न उठिरहेकाले सांसदहरूको मनोविज्ञान बुझ्न गठबन्धनका नेताले सांसद भेला गरेका हुन्। कार्यक्रमबाट बाहिरिने क्रममा प्रचण्डले गठबन्धन ५ वर्षसम्म चल्ने बताएका थिए। सांसदहरूलाई सम्बोधन गर्दै देउवाले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएर आफूले न्याय गरेको बताए। कांग्रेसको महाधिवेशनमा आफ्नो गुटबाट उम्मेदवार हुन नसकेपछि पौडेलले देउवालाई सघाउन मौन बसेको आरोप लाग्ने गरेको छ। उक्त आरोपलाई पुष्टि हुने गरेर देउवाले आज आफूले न्याय गरेको अभिव्यक्ति दिएका हुन्। प्रदेश र केन्द्रका सांसदहरूको भेला गराएर गठबन्धनले एकातिर राष्ट्रपतिमा जितको निश्चितता खोजेको छ भने अर्कोतिर प्रदेशमा पनि गठबन्धनको माहोल बनाउन कसरत गरेको छ। जसको असर अबको केही दिनमै प्रदेशमा देखिने गठबन्धनका सांसदहरूले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell