PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

प्राविधिक समस्या पछि 'ग्राउन्डेड' भएको विमानमा मर्मत गरेको दुई दिनमै देखियो समस्या, अनुसन्धान गर्दै क्यान



पहिलोपोस्ट

प्राविधिक समस्या पछि 'ग्राउन्डेड' भएको विमानमा मर्मत गरेको दुई दिनमै देखियो समस्या, अनुसन्धान गर्दै क्यान

काठमाडौं : नेपाल वायुसेवा निगमको एउटै जहाजमा पटक पटक समस्या आएपछि नागरिक उड्डयन प्राधिकरणले अनुसन्धान गर्ने भएको छ।

आइतबार दुबईमा ग्राउण्डेड भएको ९ एन-एकेएक्स कलसाइनको जहाज मर्मतपछि बुधबार पुनः मलेसियामा प्राविधिक समस्या आएपछि प्राधिकरणले अनुसन्धान गर्न लागेको हो।

‘ध्वजावाहक जहाजमा पटक पटक समस्या आएपछि प्राधिकरणको ध्यानाकर्षण भएको छ। हामी अन्तर्गत सुरक्षा अधिकारी परिचालन गरेर अनुसन्धान गर्नेछौं,’ प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भने।

यो जहाज मर्मतसम्भार गरेर दुई दिनअघि रिलिज गरिएको थियो। तर, काठमाडौं-मलेसिया उडान गरेको यो जहाज पुनः काठमाडौं फर्कने क्रममा प्राविधिक समस्या आएको थियो। मर्मतपछि यो जहाज पुनः सेड्युलमा उड्न थाले पनि प्राधिकरणले भने अनुसन्धान गर्न लागेको हो।        

निगमको एयरबस-३२० मा प्राविधिक समस्या आएपछि आइतबारदेखि दुबईमा ग्राउण्डेड भएको थियो। यो जहाज ग्राउण्डेड भएपछि अन्तर्राष्ट्रिय उडान अस्तव्यस्त बनेको थियो। निगमसँग जहाज हुँदा पनि सही व्यवस्थापन नहुँदा तोकिएको समयमा उडान नहुने र अन्तिम समयमा उडान रद्द गर्ने पुरानो रोग हटेको छैन।

निगमसँग भएका चारमध्ये एउटा जहाज ग्राउण्डेड हुँदा अन्तर्राष्ट्रिय गन्तव्यका लागि पूर्वनिर्धारित तालिका प्रभावित हुँदै आएका छन्।

एक वर्षअघि इन्जिनमा समस्या आएपछि नाइन एन-एकेडब्लु कलसाइनको न्यारोबडी जहाज दोहामा ग्राउन्डेड भएको थियो। इन्जिन मर्मतका लागि निगमले ठेक्का दिने टुंगो गरिसकेको थियो। अगाडि नै आएको गडबडी हटाउन डेढ महिना लागेको थियो।

निगमसँग हाल दुईवटा एयरबस-३३०, दुईवटा एयरबस-३२० गरी चारवटा जहाज छन्। यी जहाजले दिल्ली, मुम्बई, बैंगलोर, जापान, थाइल्याण्ड, हङकङ, साउदी अरेबिया, दुबई, कतार, मलेसियालगायतका अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell