काठमाडौं : आज शुक्रवार नेपाली सिनेमाहलमा दुई नेपाली र एक विदेशी फिल्म प्रदर्शन भएका छन्। नेपाली फिल्मतर्फ ‘छक्का पञ्जा ४’, ‘२.० छड्के’ र विदेशी फिल्मतर्फ हलिउड फिल्म ‘क्रिड -आईआईआई’ रिलिज भएका हुन्।
हेमराज बिसीको निर्देशित फिल्म ‘छक्का पञ्जा ४’ राजनीतिक विषयवस्तुमा आधारित छ। यस फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी, केदार घिमिरे (माग्रे बुढा), नीर शाह, निर्मल शर्मा, राज आचार्यलगायतका कलाकारहरूको अभिनय छ।
आमा सरस्वती मुभिजको ब्यानरमा बनेको फिल्मको प्रस्तुतकर्ता दीपक-दीपा हुन्। फिल्मका कार्यकारी निर्माता केदार प्रसाद घिमिरे र निर्मल शर्मा हुन्।
त्यसैगरी, अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘छड्के २’ रिलिज भएको छ। निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको ‘२.० छड्के’ रिभेन्ज ग्याङस्टर सिनेमा हो। यस फिल्मले रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङबिचको लडाइँको कथा भन्छ।
काभ्रे फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्ममा मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलको सहकार्य रहेको छ। निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका छन्।
फिल्ममा अनमोलका साथै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सृजना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ लगायतको अभिनय छ। यो फिल्म १० वर्ष अगाडि रिलिज भएको हिट फिल्म ‘छड्के’को सिरिज हो।
यी दुई नेपाली फिल्मका साथै हलमा हलिउड फिल्म ‘क्रिड -आईआईआई’ समेत रिलिज भएको छ। माइकल बी जोर्डन निर्देशित यो फिल्म स्पोर्ट ड्रामा हो। फिल्ममा जोर्डनका साथै जोनाथन मेजर र टेसा थम्पसनको मुख्य भूमिका छ।