PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

भद्रगोल बन्दै नारायणी अस्पताल : एमआरआई खरिदमा घोटालाको आशंका, अख्तियारको छानबिन



राधेश्याम पटेल

भद्रगोल बन्दै नारायणी अस्पताल : एमआरआई खरिदमा घोटालाको आशंका, अख्तियारको छानबिन

वीरगंज : वीरगंजकै चर्चित नारायणी अस्पतालको सेवा पछिल्लो समय दिनानुदिन भद्रगोल हुँदै गएको छ। अस्पतालको प्रशासन कमजोर बन्दै गएसँगै अस्पतालको सेवा भद्रगोल हुन थालेको हो।

कयौ सर्वसाधारण उपचारका लागि यही अस्पताल धाउने गर्छन्। तर अस्पतालको बहिरङ्ग सेवाको एक्स–रे मेसिन दश दिनयता बनेको छैन। जसले गर्दा सर्वसाधारण बिरामी निजी क्लिनिकमा रिफर भइरहेका छन्।

यतिमात्र हैन केमिकल र जनशक्ति अभावले अस्पतालको प्रयोगशालामा हुने जाँच सेवामा पनि विगतभन्दा कमी आएको प्रशासनले जनाएको छ। पहिले कलेजो परीक्षण, लिपिड प्रोफाइल, थाइराइडलगायतका परीक्षण हुन्थ्यो भने अहिले ती सेवाहरू ठप्प छ। यी सेवाका लागि पनि बिरामी अहिले निजी क्लिनिक धाउन बाध्य छन्। निजी क्लिनिकबाट अस्पताललाई कमिसन आउने भएकाले सरकारी अस्पतालको सेवालाई भद्रगोल बनाइएको बिरामीका आफन्तको आरोप छ।

पछिल्लो समय चिकित्सकसँग समय लिन पनि मुश्किल भइरहेको बिरामीको गुनासो छ। वीरगंज इनर्वाका विजय पटेलका अनुसार बिहीवार पूर्जी काटेको अढाई घण्टा बितेको र बिहान १० बजेदेखि ओपिडीमा जाँच शुरू हुनुपर्नेमा साढे १० बजेपछि मात्र चिकित्सक आएकाले यस्तो रवैयालाई अस्पताल व्यवस्थापन पक्षले सुधार गर्नुपर्ने बताए। ओपिडी चलिरहँदा विभिन्न औषधि कम्पनीका बजार प्रतिनिधि ओपिडीमा पसेर बिरामीलाई बाधा उत्पन्न गर्ने गरेका गुनासा पनि छन्। चिकित्सकको निजी क्लिनिकमा एमआर जाँदा बाधा उत्पन्न हुने तर नारायणी अस्पतालमैं एमआरको भिजिट भएपछि काम पनि कम गर्न मिल्ने र क्लिनिकको समय सदुपयोग हुने भनेर कतिपय चिकित्सकले निजी क्लिनिकभन्दा सरकारी अस्पतालको ओपिडीमा एमआरलाई बोलाउने गरेको बताइएको छ। त्यसैगरी, नारायणी अस्पतालको आइसियू, गाइनो एवं बालरोग विभागका शौचालय सफा नभएकाले उपचार गर्न आउने बिरामीलाई समस्या हुने गरेको छ।

एमआरआई खरिदमा अनियमितता : अख्तियारको छानबिन

नारायणी अस्पतालमा जडान भइरहेको एमआरआई मेसिन खरिदमा अनियमितताको उजूरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेकोले छानबिन भइरहेको छ। पूर्व मेसु वीरेन्द्रलाल प्रधानको पालामा स्वास्थ्य विभागले खरिद गरेको भ्याटबाहेक २८ करोडको एमआरआई अहिले जडान भइरहेको छ। उक्त एमआरआई एक महिनाभित्र सञ्चालन हुने बताइएको छ। तर उक्त एमआरआईमा छ करोडभन्दा बढीको कमिसन एवं अनियमितताको चलखेल भएकोले त्यसको छानबिन भइरहेको बताइएको छ।

अख्तियारले बुधवार नारायणी अस्पतालमा छापा मारी एमआरआई खरीदसम्बन्धी कागजात र जानकारी लिएको छ। यस विषयमा अस्पतालका प्रवक्ता डा उदयनारायण सिंहले एमआरआई खरीदमा अस्पतालले कुनै भूमिका निर्वाह नगरेको र सबै काम स्वास्थ्य विभागबाट भएकोले आफूहरू दोषी नरहेको बताए। उनले अख्तियारद्वारा माग भएका सबै कागजात लेखेर पठाइएकोसमेत जानकारी गराए। लुम्बिनी साइन्सेज काठमाडौंले स्वास्थ्य विभागलाई आपूर्ति गरेको एमआरआई मेसिन थ्री टेस्ला ब्रान्डको हो। यसको अन्तर्राष्ट्रिय मूल्य २० देखि २४ करोडभित्र पर्ने भए तापनि सरकारी निकायबाट खरिद भएकोले यसमा करोडौंको घोटाला भएको हुन सक्ने अख्तियारमा दिइएको उजूरीमा दाबी गरिएको छ। त्यसैगरी, अस्पतालको सेवा सुविधा र अस्पतालको व्यवस्थापन सम्बन्धमा उठेका विषयमा प्रशासनको बैठक बोलाइ समस्या समाधान हुने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell