PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

ए डिभिजन लिग बालेनले उद्घाटन गर्ने, विद्यार्थीलाई नि:शुल्क प्रवेश



पहिलोपोस्ट

ए डिभिजन लिग बालेनले उद्घाटन गर्ने, विद्यार्थीलाई नि:शुल्क प्रवेश

काठमाडौं : त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रवार साँझ साढे ५ बजे फ्रेन्डस् क्लब र खुमलटार एफसी आमनेसामने हुँदैछन्। योसँगै शहीद स्मारक ए डिभिजन लिग सुरु हुनेछ।

लिगको उद्घाटन काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले गर्नेछन्। उद्घाटन समारोह साढे ४ बजे सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

डबल राउन्ड रोबिन प्रणालीमा हुने खेलहरु दशरथ रंगशाला, च्यासल रंगशाला र एन्फा कम्प्लेक्स सातदोबाटोमा गर्ने तालिका रहेको छ।

खेलको प्रत्यक्ष प्रसारण स्पेस फोरके टेलिभिजनले गर्नेछ। स्टेडियममा साधारणतर्फ १ सय र भीआईपीतर्फ २ सय टिकट शुल्क तोकिएको छ। उद्घाटन खेलका लागि भने विद्यार्थीहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको मार्केटिङ, ब्रोडकास्टिङ र टिकेटिङ अधिकार पाएको एमडीएसी स्पोर्टसले जनाएको छ।

उद्घाटन खेलका लागि तयारी कस्तो छ?

उद्घाटन खेलमै फ्रेन्डस् क्लबसँग खेल्न गइरहेको खुमलटार एफसी यसपटक लिग उपाधि जित्ने लक्ष्यको साथ आएको जनाएको छ। खुमलटार यही पाला ए डिभिजन लिगमा उक्लिएको हो।

'हामीले केही निकै नै राम्रा विदेशी र नेपाली खेलाडी अनुबन्धित गरेका छौँ। हाम्रो ट्रेनिङ पनि राम्रो भएको छ। उपाधि उपाधिको चुनौतिका लागि खेल्नेछौँ,' खुमलटारका सिईओ विदुर श्रेष्ठले भने। त्यस्तै कप्तान रेजिन सुब्बाले युवा र अनुभवी खेलाडीको राम्रो 'कम्बिनेसन' भएकाले राम्रो प्रदर्शन हुने बताए।

त्यस्तै फ्रेन्ड्स क्लबका प्रशिक्षक उर्जेन श्रेष्ठले शीर्ष ६ मा पुग्ने आफ्नो तयारी भएको बताए। अघिल्लो सिजन थ्री स्टार क्लबको प्रशिक्षण सम्हालेका श्रेष्ठ यसपाला फ्रेन्ड्स क्लब पुगेका हुन्।

'हामीले ट्रेनिङ राम्रो गरेका छौँ र केही अभ्यास खेलहरु पनि खेलेका छौँ। हामी त्यहाँ देखिएका कमजोरीहरु सुधार्दै उद्घाटन खेलमा जानेछौँ।' उनले भने।

फ्रेन्ड्स क्लबका कप्तान प्रकाश बुढाथोकीले उद्घाटन खेलमा जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्न चाहेको बताए।

'यो म्याराथन हो र हामी सुरुमै हतारिन चाहँदैनौँ। हामीसँग शीर्षस्तरमा लामो समयदेखि खेलिआएका अनुभवी खेलाडीहरु छन्। यो हाम्रो लागि फाइदाको विषय हो,' उनले भने।

अरु टोलीको तयारी कस्तो?

बी डिभिजन लिगमा च्याम्पियन बन्दै ए डिभिजन लिगमा उक्लिएको अर्को टोली हो चर्च ब्वाइज युनाइटेड। चर्च ब्वाइजका प्रशिक्षक प्रदीप हुमागाइँले टिम उत्कृष्ट भएको भन्दै खेलमा प्रदर्शन देखिने बताए।

हुमागाइँले नेपाली राष्ट्रिय टोलीलाई समेत प्रशिक्षण दिलाउँदै दुबै खेलमा बंगलादेशलाई पनि हराउन सफल भएको थियो। त्यस्तै कप्तान अनन्त तामाङले तयारी राम्रो भएको बताए।

'युवा खेलाडी र अनुभवी खेलाडीको कम्बिनेसनमा राम्रो टोली बनेको छ। हाम्रो दुई महिनाको तयारीले पनि हामी दिनप्रतिदिन सुधार भइरहेको देखिएको छ,' उनले भने।

अघिल्लो सिजन लिगको आधा भन्दा बढी समय रेलिगेसन क्षेत्रमा संघर्ष गरेको एपीएफले यसपाला लिग जित्ने लक्ष्य लिएको छ।

'हाम्रा चारजना विदेशी खेलाडी उत्कृष्ट छन्। हाम्रो तयारी पनि राम्रो छ। अघिल्लो सिजन 'स्लो' सुरुवात गरेको भए पनि यसपाला राम्रो सुरुवात गर्नेछौँ। हामी उपाधिका लागि लड्नेछौँ',' एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले भने। त्यस्तै एपीएफका कप्तान टोप बिस्टले पनि उपाधि लक्ष्य रहेको र कम्तीमा पनि शीर्ष तीनमा रहेर लिग सक्ने लक्ष्य भएको बताए।

अर्को क्लब संकटाका प्रशिक्षक सल्यान खड्गीले नकआउट प्रतियोगितामा सहभागी हुँदा कमजोरी पत्ता लगाएर सुधार्ने अवसर पाएको बताए। उनले प्रतियोगिता र एक महिना बढीको तालिमले राम्रो तयारी भएको प्रतिकृया दिए। मछिन्द्र क्लबबाट यसै सिजन संकटा क्लब पुगेका कप्तान सुनिल बलले दायित्व उठाउन आफू तयार रहेको बताए।

'म दायित्व लिन चाहन्थे, जब अवसर आयो मैले सदुपयोग गरेँ,' बलले भने, 'मलाई लाग्छ हामी उपाधि जित्न सक्छौँ।'

यो सिजन नेपाल पुलिस क्लबको प्रशिक्षण सम्हालेका चेतन घिमिरेले आन्तरिक प्रतिस्पर्धा बाट खेलाडी छान्नु परेको बताउँदै लिगमा उत्कृष्ट नतिजा ल्याउन कठिन हुने आशय व्यक्त गरे।

'यो हाम्रो लागि पक्कै कठिन हुनेछ। हामीले आन्तरिक प्रतिस्पर्धाबाट खेलाडी छनोट गरेका छौँ। यद्यपि हामी हाम्रो उत्कृष्ट दिने प्रयास गर्ने छौँ।' उनले भने।

अघिल्लो सिजन शीर्ष चारमा रहँदै लिग टुंग्याएको सातदोबाटो युथ क्लबका प्रशिक्षक सनोज श्रेष्ठले यसपटक त्यो भन्दा राम्रो नतिजा ल्याउन चाहेको बताए।

'लिगअघिका केही प्रतियोगिताहरुमा हाम्रो प्रदर्शन साँच्चै राम्रो थियो। मैले अघिल्लो सिजनमा भन्दा टोलीले राम्रो स्थान बनाउने अपेक्षा राखेको छु,' उनले भने। सातदोबाटोका कप्तान सुदीप गुरुङले पनि अघिल्लो सिजनभन्दा राम्रो गर्ने विश्वास लिएको बताए।

लिग उपाधिको सदाबहार दाबेदार रहेर पनि च्याम्पियन बन्न नसकेको टोली हो त्रिभुवन आर्मी फुटबल क्लब। आर्मीका सहायक प्रशिक्षक राजु तामाङ यो सिजन आर्मीले उपाधि जित्ने विश्वास गर्छन्।

'हाम्रो टोली अहिले राम्रो लयमा छ,' मोफसलमा आर्मीले गरेको राम्रो प्रदर्शनलाई संकेत गर्दै तामाङले भने, 'हामी सन्तुलित टोली छौँ र सायद उपाधि जित्ने टोली पनि।' आर्मीका कप्तान भरत खवासले पनि टोलीका महत्वपूर्ण खेलाडी फर्ममा भएको भन्दै आफ्नो बलियो टोली भएको बताए।

न्युरोड टिमका प्रशिक्षक जीवन सिन्केमाना आफ्नो टोलीले दुईमहिना यता तयारी गरिरहेको उल्लेख गर्दै ७० प्रतिशतभन्दा धेरै खेलाडी २२ वर्षभन्दा कमको रहेको बताए।

अघिल्लो सिजन राम्रो सुरुवात गरेको जावलाखेल युथ क्लबका प्रशिक्षक सुनिलकुमार श्रेष्ठले टोलीले खेलाडीमाथि क्लबले राम्रो लगानी गरेको बताए।

'हामीसँग नयाँ खेलाडी छन्। उनीहरुलाई टिमसँग बाधिन केही समय लाग्छ। यसपाला हामी तयार छौ,' उनले भने। जावलाखेलका कप्तान सीमान्थ थापाले पनि टिमको तयारी राम्रो भएको भन्दै नतिजा पनि राम्रो आउनेमा विश्वस्त भएको बताए।

ए डिभिजन लिगमा बलियो टोली हो : मनाङ मर्स्याङदी क्लब। मनाङका प्रशिक्षक किरण श्रेष्ठले मनाङले आफ्नो रणनीति परिवर्तन गर्दै युवा खेलाडीमा राम्रो लगानी गरेको बताए।

'यदि तपाइँ हाम्रो विगतको टोलीलाई हेर्नुभयो भने यसमा राष्ट्रिय टोलीका खेलाडीहरू र केही राम्रो विदेशीहरू समावेश हुने गर्थे। यो सिजनका लागि हाम्रो टोली ती टोलीभन्दा फरक छ। हामीले पोखरामा बन्द क्याम्प चलायौं, नकआउट प्रतियोगिता खेल्यौं र अब शीर्ष चारमा पुग्ने सोच छ।' कप्तान दीप कार्कीले प्रशिक्षण राम्रो भएको भन्दै तालिकामा माथि रहेर नै लिग सक्ने लक्ष्य रहेको बताए।

थ्री स्टारका सहायक प्रशिक्षक बिनोद माझीले यो सिजन थ्री स्टारको गौरव फर्काउन चाहेको बताए।

यी सबै क्लबहरुसँगै पछिल्ला दुई सिजनको च्याम्पियन मछिन्द्र क्लबको दाबेदारी त छँदैछन्। प्रवेश कटुवालको प्रशिक्षणमा रहेको मछिन्द्र क्लबले केहीदिन अघिमात्र केपी ओली कपको उपाधि दशरथ रंगशालामा उचाल्दै लिगका लागि सकारात्मक माहोल बनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell