काठमाडौं : शुक्रवारबाट सितापाइलास्थित अनुपम मलमा सिके सिनेमाज् सञ्चालनमा आएको छ। नरेन्द्र महर्जन सञ्चालक रहेको हलमा छविलाल तिमिल्सेना, किशोर खतिवडा र बिवेक तिमिल्सेनाको लगानी रहेको छ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सिके सिनेमाज् हलको बिहीवार उद्धघाटन गरेका छन्। कार्यक्रममा केसीसहित काठमाडौं क्षेत्र नम्बर ८ का संघीय सांसद विराजभक्त श्रेष्ठ, नागार्जुन नगरपालिकाकी उपमेयर सुशिला अधिकारी उपस्थित थियो।
अत्याधुनिक सुविधासहित सञ्चालनमा आएको हलमा ३ सय ९१ सिट क्षमता रहेको छ। करिब १२ करोड लगानीमा निर्माण भएको सिनेमा ७.१ र डल्बी एटमोस साउण्ड सिस्टम जडान गरिएको सञ्चालक नरेन्द्र महर्जनले बताए।
बिहीवार हल सञ्चालनको उपलक्ष्यमा ‘फूलबारी’ र बलिउड फिल्म ‘पठान’ देखाइएको थियो। दुई पर्दा रहेको सिके सिनेमाज्मा शुक्रवारबाट नेपाली फिल्महरु ‘छड्के २’ र ‘छक्का पञ्जा ४’ रिलिज भएका छन्।