PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

पल शाहलाई सफाइ दिने फैसलाविरुद्ध उच्च अदालतअघि प्रदर्शन

पल शाहलाई सफाइ दिने फैसलाविरुद्ध उच्च अदालतअघि प्रदर्शन

रिना थापा/पहिलोपोस्ट


पोखरा : बाल यौन दुर्व्यवहारको अभियोग लागेका कलाकार पूर्णविक्रम शाह(पल शाह)लाई उच्च अदालत पोखराले सफाइ दिएकोविरुद्ध प्रदर्शन गरिएको छ।

यौन दुर्व्यवहारको मुद्दामा जिल्ला अदालत नवलपुरले दोषी ठहर गरेको मुद्दामा उच्च अदालत पोखराले आइतवार सफाइ दिएको थियो। अदालतले सफाइ दिएको भोलिपल्ट नै शाह रिहा भएका थिए।

अदालतले यौन दुर्व्यवहारको मुद्दामा सफाइ दिएर गलत नजिर स्थापना गर्न लागेको भन्दै पोखराका युवाले शुक्रवार उच्च अदालतअघि शान्तिपूर्ण प्रदर्शन गरेका हुन्।

‘पितृसत्ताको पहरेदार बनेको न्यायालय होसियार’, ‘न्यायालयले नै अन्याय गर्दा न्यायको अपील कहाँ गर्ने?’लगायत नारा लेखिएको पम्पलेट बोकेका पोखराका युवा अदालतको परिसर अगाडि प्रदर्शनमा बसेका थिए। उच्चको फैसलाले गलत नजिर बस्ने र यौन दुर्व्यवहारको विषय सामान्यकरण भएको प्रदर्शनमा उपस्थित अभियन्ता सलिजा श्रेष्ठले बताइन्।

'अरु केही नबुझेपनि १८ वर्षभन्दा कम उमेरका बालबालिकाले सहमतिमै यौन सम्पर्क भएपनि त्यो बलात्कार हो। कानुनमा पनि सोही कुरा उल्लेख छ,' सलिजाले भनिन्, 'एकजनाको विषयमात्र होइन। अदालतको फैसलाले गलत नजिर बसाल्न सक्छ।'

अदालतको फैसलाले यौन हिंसाविरुद्ध खुल्न थप त्रसित वातावरण बनेको प्रदर्शनमा सहभागी रिसु मगरले बताइन्।

'यहाँ उपस्थित हामी कुनै न कुनै समयमा कहीँ न कहीँ यौन दुर्वयहारमा परेका हुन्छौं। त्यो कुरालाई खुलेर भन्नको लागि आफ्नै घरदेखि नै सहज वातावरण सिर्जना हुँदैन, त्यसमा अदालतको यो फैसलाले हामी सबै पीडितलाई झन् धेरै दबाएको छ,' उनले भनिन्।

नवलपुरको फैसलापछि शाहले उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए। सोही पुनरावेदन मुद्दामा उच्चका कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले आइतवार शाहलाई सफाइ दिएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell