काठमाडौं : उपसभामुख इन्दिरा रानामगरले उपसभामुखले पाउने सेवा सुविधा नपाएको गुनासो गरेकी छिन्। काठमाडौंमा आयोजित कार्यक्रममा रानाले आफूलाई विभेद भएको बताइन्। पुरुष र महिलालाई दिने सुविधामा समेत विभेद भएको उनको भनाइ छ। 'सांसद हुँदा त्यति वास्ता गरिनँ। उपसभामुख भएको एक महिना भयो। काम, कर्तव्य र अधिकार खोज्दै जाँदा मेरो सुविधा पनि खोज्दै जाँदा थुप्रै सुविधा रहेछ,' रानाले गुनासो गरिन्,'यो कस्तो रहेछ भने पुरुषले गर्ने र ठूलो पार्टीले सानो पार्टीलाई गर्ने त्यो भ्रष्टाचार होइन र?'
आफूले विभिन्न खालका विभेद भोगेको भन्दै रानाले गाडी सुविधासमेत त्यस्तो भएको बताएन्। 'हिजो मलाई एकदम गाह्रो भयो चाँडो आउनुपर्ने थियो। गाडीहरु भित्र पसाइदिनु न भनेको मिल्दैन भन्नुभयो सम्मानित ज्यू बाहेकको। मैले जब म रोष्ट्रममा बस्छु त्यतिबेला एउटा भिडियो खिच्न लगाएर त्यहाँ सम्मानीय ज्यू त भनिरहेका हुन्छन् नि। अनि म पनि सम्माननीय हो भनेर भन्ने?,' उनको प्रश्न छ।
घरभाँडा स्वरुप पाउने रकम पनि पर्याप्त नभएको उनको भनाइ छ। सुरक्षाकर्मी उपलब्ध गराउँदा नै फरक व्यवहार भएको भन्दै रानाले भनिन्,'पहिला पुरुष उपसभामुख हुँदाखेरी आर्मी दिन्थ्यो रे मन्त्री सरहको सुविधा हुन्थ्यो रे। हिजो के भन्यो भन्दाखेरी उहाँ राज्यमन्त्रीसरह हो उहाँलाई मन्दिन भन्नुभयो रे। यो के अपमान होइन? उपसभामुखलाई घर दिने भनेको छ घर दिएकै छैन। ५ जना सशस्त्र पठाइदिएको छ उहाँलाई पाल्नुपरेको छ। मैले फ्ल्याट लिएको तल दुईवटा उहाँलाई दिएको छु एउटा मैले लिएको ४४ हजार, पाउने ३६ हजार।'