काठमाडौँ: आशिफ शेख र सन्दीप लामिछानेले सुझबुझपूर्ण साझेदारी गर्दा नेपालले पपुवान्युगिनीमाथि नाटकीय जित निकालेको छ। दुबई इन्टरनेशनल क्रिकेट मैदानमा सम्पन्न क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपालले पीएनजीमाथि ३ विकेटको सानदार जित निकालेको हो।
टस जितेर ब्याटिङमा उत्रिएको पीएनजीले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै १७९ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले १०५-७ को संकटको अवस्थाबाट पुनरागमन गर्दै पीएनजीमाथि नाटकीय जित निकालेको हो। नेपालले ४८ ओभरको समाप्तीमा लक्ष्य पुरा गर्यो।
सुरुवाती ब्याटिङमा उत्रिएको पीएनजीका लागि ओपनरद्वय टोनी उरा र किप्लिन डोरिगाले राम्रो सुरुवात गरेका थिए। पहिलो विकेटका लागि ४२ रनको साझेदारी गर्दा उराले सर्वाधिक ३९ रन र डोरिगाले २६ रन बनाएका थिए। त्यसपछि आएका सेसे बाउ र असद भाला समान ११ रनमा आउट हुँदा नोर्मन भउनाले १४ र गौडी टोकाले १५ रन बनाए। त्यसबाहेकका ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।
बलिङतर्फ नेपालका सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान २ विकेट लिँदा करण केसी, सन्दीप लामिछाने र कुशल मल्लले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको नेपालका ओपनर कुशल भुर्तेल पहिलो बलमै बोल्डआउट आए। त्यसपछि आएका ज्ञानेन्द्र मल्ल ६ रनमा आउट हुँदा भीम सार्की ८ रन बनाएर पभेलियन फर्किए। त्यसपछि आएका कप्तान एवम भरपर्दा ब्याट्सम्यान रोहितकुमार पौडेल र आरिफ शेख समान १ रन बनाएर आउट भए। त्यस्तै अर्का ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी ८ रनमा आउट हुँदा शीर्ष र मध्यक्रमका ६ जना ब्याट्सम्यान दोहोरो अंकको रन नबनाउँदै आउट भए। त्यसपछी आएका कुशल मल्ल र सन्दीप लामिछाने नेपालको स्कोर माथि उठाउन शेखसँग अत्यावश्यक साझेदारी गरे।
सुरुबाटै साझेदारी बनाउन कोशिष गरिरहेका ओपनर आशिफ शेखले भने सानदार प्रदर्शन गर्दै खेल जिताउन सफल भए। शेखले सर्वाधिक अविजित ८६ रन बनाउँदा लामिछाने ३५ रनमा नटआउट रहे। त्यस्तै पछिल्लो समय फर्ममा देखिएका कुशल मल्लले २३ रन बनाए।
बलिङतर्फ पीएनजीका कप्तान असद भालाले सर्वाधिक ३ विकेट लिँदा सेसे बाउ र सेमो कमिआले समान २ विकेट लिए।
जितसँगै छैटौँ स्थानमा कायम रहेको नेपालले ३१ खेलबाट ३० अंक जोडेको छ। र, शीर्ष तीनमा रहँदै विश्वकप छनोट खेल्नपाउने होडमा कायम छ। अर्कोतर्फ पीएनजी समान खेलबाट ७ अंक जोड्दै तालिकाको पुछारमा छ।
नेपालले यूएई सिरिजको अन्तिम खेलमा सोमवारवार घरेलु टोली यूइईसँग खेल्दैछ।