काठमाडौँ: शहीद स्मारक ए डिभिजन लिगमा नवप्रवेशी खुमलटार एफसीले जितसँगै सुखद् सुरुवात गरेको छ। 'बी' डिभिजनबाट पहिलोपटक ए डिभिजन लिगमा उक्लिएको खुमलटारले 'ए' डिभिजनको डेब्यु खेलमै फ्रेन्ड्स क्लबलाई हराउँदै सुखद् यात्रा सुरु गरेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफ केही तनावपूर्ण पनि बनेको थियो। खेलाडीबीच विवादको अवस्था आइपर्दा रेफ्री प्रकाशनाथ श्रेष्ठले कार्ड बर्साएका थिए। खेलको निर्धारित समयको अन्तिम मिनेट बाँकी छँदा खुमलटार एफसीका मेसुके ओलोमोउले गोल गर्दै खुमलटारको जितमा निर्णायक बने।
पहिलो खेलमै पराजय ब्यहोरेपछि फ्रेन्ड्स क्लबका प्रशिक्षक उर्जेन श्रेष्ठले मेसुकेको गोल हातको प्रयोग गरेर गोल गरे पनि रेफ्रीले नदेखेको आरोप लगाए।
'हामीले राम्रै खेलेको हो। तर, बल पोजिसन राख्न सकेनौँ। उनीहरुले हामीलाई प्रेसर दिए। खासगरी मेसुके र बिनोङको कम्बिनेसन राम्रो हुँदा अलि गाह्रो भयो,' श्रेष्ठले भने, 'हाम्रोमा विदेशी खेलाडी नभएकाले 'प्रेसर' भयो।'
श्रेष्ठले दाबी गरे: जुन गोल हामीले खायौँ त्यो बल मेसुकेले हातले तानेर गोल लागेको खेलाडीहरुले भने।
'मैले टाढाबाट देखिन रेफ्रीले पनि देखेनौँ भने। नजिक भएका हाम्रो खेलाडीले भने हातले तानेर गोल गरेको भने' उनले भने।
जितपछि एफसी खुमलटारका सहायक प्रशिक्षक मदन सुब्बाले खेलाडीले राम्रो खेलेको बताए।
'फर्स्टबारबाट गएको गोल हो। हात प्रयोग भएको भन्ने कुरा गलत हो', उनले भने।
डबल राउन्ड रोबिन प्रणालीमा हुने लिगका खेलहरु दशरथ रंगशाला, च्यासल रंगशाला र एन्फा कम्प्लेक्स सातदोबाटोमा गर्ने तालिका रहेको छ।