इङ्लिस क्लब लिभरपुलका ब्राजिलियन फरवार्ड रोबर्टो फर्मिनोले यो सिजनको अन्त्यमा क्लब छाड्ने भएका छन्। सिजनको अन्त्यमा ‘कन्ट्र्याक्ट’ सकिएसँगै उनले क्लब छाड्ने बीबीसीले उल्लेख गरेको छ।
३१ वर्षीय फर्मिनो जुन २०१५ मा होफेनहाइमबाट २९ मिलियन पाउन्डको सम्झौतामा लिभरपुल आएका थिए। फर्मिनोले एनफिल्डमा रहँदा लिभरपुललाई च्याम्पियन्स लिग, प्रिमियर लिग, एफए कप, ईएफएल कप र क्लब विश्वकप जिताउन मद्दत गरे।
उनले लिभरपुलका लागि ३५३ खेल खेलेका छन्। जसमा उनले १०७ गोल गरेका छन् भने ७० असिस्ट गरेका छन्।
लिभरपुलका म्यानेजर युर्गेन क्लोपले आफू फर्मिनो क्लबमा रहुन् भन्ने चाहेको बताएका थिए। तर, उनीसँग नयाँ सम्झौताको बारेमा छलफल गरिरहेको बेला फर्मिनो बाहिरिन चाहेको क्लोपले बताए।
पछिल्लो समय ‘मसल इन्जुरी’ उनको लागि समस्या बनेको छ भने। डिएगो जोटा, लुइस डियाज, डार्विन नुनेज र कोडी गाक्पोको आगमनले पनि मैदानमा उनको समय सीमित हुने गरेको छ।
लिभरपुल फ्यानका बिच फर्मिनो उच्च स्थानमा नै रहेका छन्। लिभरपुलको प्रतिष्ठित ‘अट्याकिङ ट्रियो’मा उनी सेन्टरबाट खेल्ने गर्थे जसमा उनलाई मोहम्मद हलाह र साडियो मानेले दायाँबायाँबाट साथ दिन्थे। माने भने गतवर्ष नै लिभरपुल छाडेर जर्मन क्लब बायर्न म्युनिख गएका छन्।
२०१९-२० मा प्रिमियर लिग जितेर उक्त ‘अट्याकिङ ट्रियो’ले लिभरपुललाई ३० वर्षपछि पहिलो पटक इङ्लिस लिगको उपाधि जिताउन मद्दत गरेका थिए।
फर्मिनोले यस सिजनमा सबै प्रतियोगिता गरी २६ खेल खेलेका छन् जसमा नौ गोल गरेका छन् भने चार असिस्ट गरेका छन्। उनी गत वर्ष विश्वकपको लागि ब्राजिलियन टोलीमा पर्न सकेनन् भने प्रिमियर लिग पुन: सुरु भएपछि चोटको सामना गर्नुपर्यो।