PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

थ्री स्टारलाई हराउँदै लिगमा एपीएफको सुखद सुरुवात, नवप्रवेशी चर्च ब्वाइजको पुलिसमाथि 'डेब्यु' जित



पहिलोपोस्ट

थ्री स्टारलाई हराउँदै लिगमा एपीएफको सुखद सुरुवात, नवप्रवेशी चर्च ब्वाइजको पुलिसमाथि 'डेब्यु' जित
तस्बिरहरु: ए डिभिजन लिग

काठमाडौँ: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दशरथ रंगशालामा सम्पन्न खेलमा एपीएफ क्लबले थ्रीस्टारलाई हराउँदै सुखद सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा विभागीय टोली एपीएफले ललितपुरे क्लब थ्री स्टारमाथि २-० गोलको जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा एपीएफले दुबै गोल गरेको थियो। खेलको खेलको ७१ औं मिनेटमा मणीकुमार लामाको गोलमा एपीएफले अग्रता बनाएको थियो। त्यस्तै ८६ औं मिनेटमा विदेशी खेलाडी अर्मान्ड बिएडोउमले गोल थप्दा एपीएफले २-० गोलअन्तरले जित निकालेको हो।

त्यस्तै आजै च्यासल स्टेडियममा सम्पन्न खेलमा नवप्रवेशी चर्च ब्वाइजले अर्को विभागीय टोली नेपाल पुलिस क्लबमाथि २-१ गोल अन्तरको जित निकाल्न सफल भयो।

खेलको १४ औं मिनेटमा रवि पासवानको गोलमा पुलिसले अग्रता बनाएको थियो। तर, पहिलो हाफको अन्तिम समयमा आशिश चौधरीले गोल फर्काउँदा खेल बराबरीमा आयो। दोस्रो हाफमा चर्च ब्वाइज अर्को गोल थप्यो। खेलको ७० औं मिनेटमा चर्च ब्वाइजका फ्रान्कलिन कुएटे टल्लाले गोल गरे। र, नवप्रवेशी चर्च ब्वाइजले ए डिभिजन खेलको डेब्यु खेलमै जित निकालेको हो। यसअघि उद्घाटन खेलमा अर्को ए डिभिजन लिगमा प्रोमोसन भएको क्लब खुमलटार एफसीले फ्रेन्ड्स क्लबलाई हराउँदै ए डिभिजन लिगमा 'डेब्यु' जित निकालेको थियो।

आजै हुने तेस्रो खेलमा मनाङ मर्स्याङदी क्लब र हिमालयन शेर्पा क्लब साँझ साढे ५ बजे दशरथ रंगशालामा आमनेसामने हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell