कास्कीः फेवातालमा डुंगा दुर्घटना हुँदा घाइते भएकी एक वृद्धाको मृत्यु भएको छ। शनिबार दिउँसो पोखरा महानगरपालिका ६ स्थित फेवातालमा डुङ्गा दुर्घटनामा हुँदा दश जना घाइते भएका थिए। दुर्घटनामा परेका दश जनाकै सशस्त्र प्रहरीले जीवित उद्धार गरेको थियो।
तर घाइतेमध्ये एक वृद्धाको भने उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ।
पोखरा महानरपालिका १ बगरकी याममाया गिरीको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ। गण्डकी स्वास्थ्य प्रतिष्ठानमा उपचारका क्रममा गिरीको निधन भएको हो।
शनिबार अपारह्न ४ बजे अचानक आएको हावाहुरीका कारण दुई वटा डुङ्गा र ४ वटा कायाक पल्टिएका थिए। लगत्तै फेवाताल रेस्क्यू टावर सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरी बलको गोताखोरसहितको टोलीले उनीहरुको उद्दार गरेको थियो।
दुई वटा डुङ्गामा ६ जना तथा ४ वटा कायाकमा १/१ जना रहेको प्रहरीको भनाई छ। डुङ्गामा रहेका कास्की जिल्लाकै हुन्। कायाकमा रहेका ४ जना काठमाडौंबाट पोखरा घुम्न गएका व्यक्तिहरु रहेको प्रहरीले जनाएको छ।