PahiloPost

Jan 21, 2025 | ८ माघ २०८१

न्युक्यासल म्यानचेस्टर सिटीसँग पराजित, आर्सनलको कठिन जित



पहिलोपोस्ट

न्युक्यासल म्यानचेस्टर सिटीसँग पराजित, आर्सनलको कठिन जित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडलाई हराएको छ। इतिहाद स्टेडियममा खेलमा घरेलु टोली सिटीले न्युक्यासलमाथि २-० गोलको जित निकालेको हो।

खेलको १५ औं मिनेटमा रोड्रीको पासमा फिल फोडेनले सिटीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले अघि रहेको सिटीका लागि दोस्रो गोल बर्नान्डो सिल्भाले ६७ औं मिनेटमा गरे। उनले अर्लिङ हल्याण्डको पासमा गोल गर्दा सिटीले २-० गोलको जित निकालेको हो।

त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा लिग लिडर आर्सनलले बर्नेमाउथमाथि कठिन पुनरागमन जित निकाल्यो। इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा खेलमा घरेलु टोली आर्सनलले ३-२ गोलअन्तरले जित निकालेको हो।

खेलको पहिलो मिनेटमै बर्नेमाउथले फिलिप बिलिङको गोलमा अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले अघि रहेको बर्नेमाउथका लागि ५७ औं मिनेटमा मार्कोस सेनेसीले गोल थपे। तर, दुई गोलको अग्रतालाई पनि बर्नेमाउथले जोगाउन सकेन।

घरेलु टोलीले खेलको ६२ औं मिनेटमा थोमस पार्टे र ७० औं मिनेटमा बेन ह्वाइटले गोल फर्काउँदा खेल बराबरीमा आयो। त्यस्तै इन्ज्युरी समयको पनि अन्तिम मिनेटमा रेइस नेल्सनले गोल गर्दा २-० को अवस्थामा पछि रहेको आर्सनलले ३-२ गोलको जित निकाल्न सफल भयो।

योसँगै शीर्षस्थानको प्रतिस्पर्धा रोचक बन्दै गइरहेको छ। आर्सनलले २६ खेलबाट ६३ अंक जोड्दै शीर्षस्थानको वर्चस्वलाई कायम राखेको छ भने दोस्रो स्थानको म्यानचेस्टर सिटीले समान खेलबाट ५८ अंक जोडेको छ। लिगमा सानदार सुरुवात गरेको न्युक्यासल भने लगातार दुई पराजय र त्यसअघिका बराबरीका शृङखलाहरुका कारण ४१ अंक जोडेर तालिकाको पाँचौँ स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell