
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिड्स युनाइटेडमाथि कठिन जित निकालेसँग चेल्सीलाई राहत मिलेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा चेल्सीले लिड्समाथि १-० गोलको जित निकालेको थियो।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा चेल्सीलाई जित दिलाउन ५३ औं मिनेटमा वेस्ले फोफनाले निर्णायक गोल गरे। हारको शृङखला पछि जित निकाल्दा प्रशिक्षक ग्राहम पोटरलाई पनि राहत मिलेको छ। पछिल्लो १५ खेलमध्ये चेल्सीले २ वटा खेलमा मात्र जित निकालेको थियो।
त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा वुल्भ्सले टोटेनहम हट्स्परलाई हरायो। मोलिनेउक्स स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली वुल्भ्सले टोटेनहममाथि १-० गोलको कठिन जित निकालेको हो।
पहिलो हाफ बराबरीमा रोकिएको खेलको ८२ औं मिनेटमा अडामा ट्राओरले निर्णायक गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गरे।
योसँगै २६ खेलबाट २७ अंक जोडेको वुल्भ्स तालिकाको १३ औं स्थानमा उक्लिएको छ भने ४५ अंक जोडेको टोटेनहम चौथो स्थानमा छ। त्यस्तै ३४ अंक जोडेको चेल्सी १० औं स्थानमा उक्लिँदा २२ अंक जोडेको लिड्स रेलिगेशन क्षेत्र भन्दा एक स्थान मात्र माथि छ।