PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

एम्बाप्पे बने पीएसजीको सर्वकालीन सर्वाधिक गोलकर्ता



पहिलोपोस्ट

एम्बाप्पे बने पीएसजीको सर्वकालीन सर्वाधिक गोलकर्ता
Photo: Reuters

फ्रेन्च स्ट्राइकर किलियन एम्बाप्पे पेरिस सेन्ट जर्मेन (पीएसजी)को सर्वाकालीन सर्वाधिक गोलकर्ता बनेका छन्। फ्रेन्च लिग वानमा गएराति सम्पन्न खेलमा नान्तेसमाथि जित निकाल्दा गोल गरेसँगै एम्बाप्पे पीएसजीको सर्वाधिक गोलकर्ता बनेका हुन्।

घरेलु मैदान पार्क डी प्रिन्सेसमा सम्पन्न खेलमा पीएसजीले ४-२ गोल अन्तरले जित निकालेको थियो। खेलको १२ औं मिनेटमै मेस्सीको गोलमा अग्रता बनाएको पीएसजीले विपक्षी टोलीका जोउएन हदजमले १७ औं मिनेटमा आत्मघाती गोल गर्दा अग्रता दोब्बर बनायो। नान्तेसका लुडोभिच ब्लासले ३१ र इग्नाटियस गनागोले ३८ औं मिनेटमा गोल फर्काउँदा पहिलो हाफ २-२ गोलको बराबरीमा रोकियो।

दोस्रो हाफमा पीएसजीले दुई गोल थप्यो। खेलको ६० औं मिनेटमा ड्यानिलो पेरेइरा र इन्ज्युरी समयमा एम्बाप्पेले गोल गर्दा पीएसजीले ४-२ गोलको जित निकाल्यो।

एम्बाप्पेले पीएसजीबाट २०१ औं गोल गर्दै एडिसन काभानीको कीर्तिमानीलाई पछि पारे र पीएसजीका लागि सर्वाकालीन सर्वाधिक गोलकर्ता बने। काभानीले ३०१ खेलबाट २०० गोल पुरा गर्दा एम्बाप्पेल २४७ खेलबाटै त्यो कीर्तिमान तोडेका हुन्।

डिसेम्बरमा २४ वर्ष पुगेका एम्बाप्पेले दुई विश्वकप खेल्दा एकमा च्याम्पियन बनिसकेका छन्। त्यस्तै उनी पछिल्लो विश्वकपको सर्वाधिक गोलकर्ता पनि हुन्।

उनी सन् २०१७ मा मोनाकोबाट पीएसजी पुगेका थिए। एम्बाप्पेले पीएजीबाट चार लिग उपाधि जितिसकेका छन्।

गएरातिको जितसँगै पीएसजीले शीर्षस्थानमा ११ अंकको अग्रता बनाएको छ। २६ खेलबाट ६३ अंक जोड्दै पीएसजी शीर्षस्थानमा रहँदा दोस्रो स्थानको मार्सेलीले २५ खेलबाट ५२ अंक जोडेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell